नागर्जुन नगरपालिकाद्वारा सेवा प्रवाह र विकास निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न
काठमाडौं । “समृद्ध नागर्जुनको आधार : सुशासन, मानव विकास र पर्यटनसहितको दिगो पूर्वाधार” भन्ने मूल नारासहित नागर्जुन नगरपालिकाले सेवा प्रवाह तथा विकास निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
नागर्जुन नगरपालिका–७ स्थित ऐतिहासिक इचङ्गुनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा कामु नगर प्रमुख सुशिला अधिकारीले नगरपालिकाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिहरू सञ्चालन गरिरहेको बताइन्। उनले नागरिकबाट प्राप्त सुझाव, गुनासा र प्रतिक्रियालाई सम्बोधन गर्दै आगामी दिनमा विकास योजनाहरूलाई थप प्रभावकारी र परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले नगरपालिकाबाट प्रदान हुँदै आएका सेवा, सञ्चालनमा रहेका विकास आयोजना, बजेट कार्यान्वयनको अवस्था तथा आगामी योजनाबारे जानकारी गराएका थिए। उनले सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको विश्वास तथा सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य केशव पौडेलले सुशासन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउन सकेमात्र नागर्जुन नगरपालिकाले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने धारणा राखे। उनले जनअपेक्षाअनुसार परिणाममुखी कार्यसम्पादन गर्न स्थानीय सरकारलाई आग्रह गरे।
विशेष अतिथि तथा बागमती प्रदेशका पूर्वमन्त्री प्रकाश श्रेष्ठले नागर्जुन क्षेत्र धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले सम्पन्न भएकाले पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिए। उनले दिगो पूर्वाधार निर्माणसँगै मानव विकासका सूचकहरूमा सुधार ल्याउन विशेष ध्यान दिनुपर्ने बताए।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए। नगरपालिकाका पदाधिकारी तथा सम्बन्धित शाखा प्रमुखहरूले उठाइएका प्रश्नहरूको जवाफ दिएका थिए।
नगरपालिकाले सार्वजनिक सुनुवाइलाई नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहिताको प्रभावकारी माध्यमका रूपमा लिँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नागर्जुन नगरपालिकाद्वारा सेवा प्रवाह र विकास निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्