Techie IT
सोमबार, जेठ २५,२०८३

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा डिक बहादुर प्यानल बिजयी, कसको कति मत ?


काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डिकबहादुर खत्री (कुमार) अध्यक्षमा विजयी भएका छन्। खत्री नेतृत्वको प्यानलले अधिकांश पदमा सफलता हासिल गर्दै संघमा आफ्नो प्रभावशाली उपस्थिति कायम गरेको छ।

निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायी सम्मिलित संयुक्त व्यवसायी समूहले खत्रीको नेतृत्वमा प्यानल खडा गरेको थियो।

अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवार मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे। स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका थिए।

भर्खरै सम्पन्न मतगणनाअनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत २४१ मतसहित विजयी भएका छन्। त्यसैगरी द्वितीय उपाध्यक्षमा अनिल बोगटीले ३१५ मत, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेलले २५९ मत, महासचिवमा हरि डाँगीले २७३ मत, सचिवमा केदारनाथ अधिकारीले २९४ मत तथा कोषाध्यक्षमा धनमाया सिन्जालीले ३२३ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

१७ सदस्यीय कार्यसमितिमा प्रगतिशील प्यानलले उल्लेखनीय सफलता हात पारेको छ। प्यानलले सात पदाधिकारीमध्ये छ पद तथा १० कार्यसमिति सदस्यमध्ये आठ सदस्यमा विजय हासिल गरेको छ।

यता, लोकतान्त्रिक एसोसिएसन प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल तथा सदस्यद्वय गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्