Techie IT
शनिबार, जेठ २३,२०८३

बालाजु प्रहरी वृत्त पुगेर पूर्वगृहमन्त्री गुरुङले भने नेपाली ब्रो लाई कानुनी कारवाही गर्नुपर्छ


काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित टिकटकर कुमार थापा मगरलाई आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनाप्रति विभिन्न क्षेत्रबाट ध्यानाकर्षण भइरहेको बेला पूर्वगृहमन्त्री सुधन गुरुङले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार शुक्रबार राति काठमाडौंको तारकेश्वर नगरपालिका–स्थित लोलाङ, पैँयुटारमा उक्त घटना भएको हो। स्कुटरमा घर फर्किरहेकी ईश्वरीमाथि कुमारले रड प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी ईश्वरीलाई स्थानीयवासीले तत्काल तारकेश्वर अस्पताल पुर्‍याएका थिए। अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार ईश्वरी नेपाली सेनामा कार्यरत थिइन्। कुमार र ईश्वरीबीच वैवाहिक सम्बन्धमा समस्या रहेको र सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शुक्रबार बेलुकी कामबाट फर्किने समय कुरेर कुमार बाटोमा बसेको र घर नजिकै पुगेपछि आक्रमण गरेको प्रहरीले जनाएको छ।

‘नेपाली ब्रो’ नामबाट परिचित कुमार आफूलाई रेस्लर तथा फाइटरका रूपमा समेत चिनाउने गर्दथे। घटनापछि उनलाई शुक्रबार राति बालाजु क्षेत्रबाट पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्। कुमार र ईश्वरी दुवै ४२ वर्षका रहेको प्रहरीले जनाएको छ।

यसैबीच पूर्वगृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्। गुरुङ आज प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिँदै सत्यतथ्य अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका हुन्।

उनको सचिवालयका अनुसार त्यसअघि गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। भुजेल पूर्वगृहमन्त्री गुरुङको गृह जिल्ला गोरखा तथा निर्वाचन क्षेत्र नं. १ की बासिन्दा थिइन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्