Techie IT
शुक्रबार, साउन १,२०८३

बालबालिकाको नेतृत्वमा हरित भविष्य : वर्ल्ड भिजनको ‘एक बालबालिका, एक रुख’ अभियानअन्तर्गत देशभर ८० हजार बिरुवा रोपियो


काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा बालबालिकाको नेतृत्वमा नेपालभर बृहत् वृक्षरोपण अभियान सम्पन्न भएको छ। “एक बालबालिका, एक रुख, एक नेपाल” भन्ने नारासहित वर्ल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा सञ्चालन गरिएको अभियानअन्तर्गत देशभर करिब ८० हजार बालबालिकाले वृक्षरोपण गरेका छन्।

१७ जिल्लाका ४६ स्थानीय तहमा सञ्चालन गरिएको अभियानमा उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँ, ललितपुर, लमजुङ, जुम्ला, कैलाली, कञ्चनपुर, अछाम, डोटी, दैलेख, जाजरकोट, बाँके र बाजाङका बालबालिकाले सक्रिय सहभागिता जनाएका थिए। विद्यालय, समुदाय, वडा कार्यालय तथा घरपरिसरमा गरिएको वृक्षरोपणमार्फत हजारौँ फलफूल तथा स्थानीय वातावरणअनुकूल बिरुवाहरू रोपिएका छन्।

अभियानले वातावरण संरक्षणसँगै खाद्य सुरक्षा, पोषण प्रवर्द्धन तथा जलवायु उत्थानशीलता अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ। आँप, लिची, अम्बा र सुन्तला जस्ता फलफूलका बिरुवाको रोपाइँले दीर्घकालीन रूपमा समुदायको जीविकोपार्जन र पोषण सुरक्षामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस अभियानको अर्को विशेषता समावेशी सहभागिता रहेको छ। वृक्षरोपण कार्यक्रममा ५७३ जना अपाङ्गता भएका बालबालिकाले पनि सहभागिता जनाएका थिए। यसले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सबै बालबालिकाको समान सहभागिता सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक रोस्लिन ह्यान्सन ग्याब्रियल ले अभियानको सफलताले सामुदायिक सहकार्य र बालबालिकाको नेतृत्व क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइन्।

उनले भनिन्, “हामीले बालबालिकालाई केवल लाभग्राहीका रूपमा होइन, परिवर्तनका संवाहकका रूपमा हेर्छौं। हरित र दिगो भविष्य निर्माणमा उनीहरूको नेतृत्व देख्नु प्रेरणादायी छ।”

त्यस्तै, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका एसोसिएट डाइरेक्टर तथा रेजिलियन्स एण्ड लाइभलिहुड्स प्रमुख प्रकाश तिवारी ले जलवायु परिवर्तनका असरबाट बालबालिका सबैभन्दा बढी प्रभावित हुने भए पनि उनीहरू समाधानको महत्वपूर्ण हिस्सा बन्न सक्ने बताए।

“यो अभियानले बालबालिकामा वातावरणीय चेतना र जिम्मेवारी विकास गर्नुका साथै उनीहरूलाई जलवायु समाधानका सक्रिय नागरिकका रूपमा स्थापित गरेको छ,” उनले भने।

स्थानीय तहका जनप्रतिनिधिहरूले पनि अभियानको प्रशंसा गरेका छन्। महोत्तरीको एकडारा गाउँपालिका का अध्यक्ष दीप नारायण मण्डल ले फलफूलका बिरुवाको वितरणले वातावरण संरक्षणसँगै भविष्यको खाद्य सुरक्षा र पोषणमा सकारात्मक प्रभाव पार्ने बताए।

विद्यालय क्षेत्रले समेत यसलाई व्यवहारिक सिकाइको उत्कृष्ट अवसरका रूपमा लिएको छ। राष्ट्रिय आधारभूत विद्यालय, बहेडा का प्रधानाध्यापक राम ईश्वर मण्डल ले बालबालिकाले वातावरण संरक्षणको महत्व व्यवहारमै सिक्ने अवसर प्राप्त गरेको बताए।

अभियानमा सहभागी बालबालिकाहरू उत्साहित देखिएका थिए। महोत्तरीकी ८ वर्षीया रोशनी यादव ले आफूले रोपेको बिरुवा हुर्काएर परिवार र साथीभाइसँग फल बाँड्ने सपना रहेको बताइन्। १४ वर्षीय गौतम साह ले वातावरण संरक्षणको महत्व बुझेपछि आफ्ना साथीहरूलाई पनि वृक्षरोपणका लागि प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे।

जुम्लाकी अभिभावक बास्मती बुढा ले यस्ता कार्यक्रमले बालबालिकामा सानै उमेरदेखि जिम्मेवारी र नेतृत्व विकास गर्ने बताइन्।

कैलालीकी विविशा चौधरी ले आफूले प्राप्त गरेको बिरुवा आफ्नै जीवनसँगै हुर्किने बताउँदै प्रकृतिप्रतिको माया बढेको अनुभव सुनाइन्। त्यस्तै, टिकापुर नगरपालिका–७ की आस्था आरसी ले बिरुवा घरनजिक रोपेर संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

किर्तिपुरकी श्रुति भण्डारी ले आफूले रोपेको रुख १० वर्षपछि फलिरहेको देख्न चाहेको बताइन् भने कञ्चनपुरकी एलिसा ले लिचीको बिरुवा रोपेपछि थप रुख रोप्ने प्रेरणा प्राप्त भएको बताइन्।

देशव्यापी रूपमा सम्पन्न ‘एक बालबालिका, एक रुख’ अभियान नेपालमा बालबालिकाको नेतृत्वमा जलवायु कार्यको प्रभावकारी उदाहरण बनेको छ। वातावरण संरक्षण, खाद्य सुरक्षा र सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने यो अभियानले आगामी पुस्ताका लागि हरित, सुरक्षित र दिगो नेपाल निर्माणको आधार तयार गर्ने विश्वास गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक रुख’ अभियानअन्तर्गत देशभर ८० हजार बिरुवा रोपियो, #बालबालिकाको नेतृत्वमा हरित भविष्य : वर्ल्ड भिजनको ‘एक बालबालिका


तपाईको कमेन्ट लेख्नुहोस्