Techie IT
आईतबार, जेठ २४,२०८३

रास्वपा सांसद कोमल ज्ञवालीविरुद्ध दुई मुद्दा, एकमा क्षतिपूर्ति आदेश, अर्को विचाराधीन


कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद कोमल ज्ञवालीविरुद्ध कैलाली जिल्ला अदालतमा दुई छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्। तीमध्ये एक मुद्दामा अदालतले क्षतिपूर्ति दिलाउने आदेश दिएको छ भने अर्को मुद्दा अझै विचाराधीन रहेको छ।

टीकापुरका युवा व्यवसायी पदम सापकोटा र उनकी पत्नी जमुना कुमारी विष्टले सांसद ज्ञवालीविरुद्ध क्रमशः क्षतिपूर्ति तथा किर्ते जालसाजीसम्बन्धी उजुरी दिएका हुन्।

सापकोटा र ज्ञवालीबीच टीकापुर–२, सीतापुरस्थित २ बिघा १४ कठ्ठा जग्गा कृषि आयोजना सञ्चालनका लागि २०७५ वैशाख २० गते लिज सम्झौता भएको थियो। उक्त सम्झौता २०७६ वैशाखदेखि २०८८ चैत मसान्तसम्म कायम रहने व्यवस्था गरिएको थियो। सम्झौताअनुसार कृषि, पशुपालन, फलफूल खेती तथा वृक्षारोपणलगायतका गतिविधि सञ्चालन गर्ने तथा जग्गाधनीलाई वार्षिक रूपमा प्रति बिघा २५ क्विन्टल गहुँ वा सो बराबरको रकम उपलब्ध गराउने सहमति भएको थियो।

तर २०८१ जेठ २ गते सांसद ज्ञवालीले एकतर्फी रूपमा सम्झौता तोड्दै सापकोटालाई जग्गा खाली गर्न पत्र पठाएको आरोप छ। त्यसपछि सापकोटाले कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

सापकोटाका अनुसार अदालतले उनको दाबीलाई स्वीकार गर्दै क्षतिपूर्ति पाउने फैसला गरेको छ। २०८१ पुसमा दायर गरिएको उक्त रिटमा न्यायाधीश गोकुलप्रसाद निरौलाको इजलासले दाबी पुग्ने आदेश दिएको बताइएको छ।

“१२ वर्षका लागि गरिएको लिज सम्झौता एकतर्फी रूपमा तोडियो। व्यवसाय सञ्चालन गरिरहेका बेला मलाई अन्यायपूर्वक हटाइयो। अदालतले मेरो दाबी स्वीकार गर्दै क्षतिपूर्ति पाउने फैसला गरेको छ,” सापकोटाले भने।

उनले अदालतको पूर्णपाठ सार्वजनिक हुनुअघि नै सांसद ज्ञवालीले आफूले निर्माण गरेका संरचनामा ताला लगाएर कब्जा गरेको आरोपसमेत लगाएका छन्।

यता सांसद ज्ञवालीले भने सापकोटाविरुद्ध आफूले पनि क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको र त्यसमा समेत सापकोटालाई क्षतिपूर्ति तिर्नुपर्ने आदेश भएको दाबी गरेकी छन्।

“अझै पूर्णपाठ आएको छैन। उहाँले दाबी गर्नुभएको रकम र मैले दाबी गरेको रकमबीच लेनदेन हुने देखिन्छ। सबै कुरा पूर्णपाठ आएपछि स्पष्ट हुनेछ,” ज्ञवालीले भनिन्।

यसैबीच, क्षतिपूर्तिको मुद्दा चलिरहेकै अवस्थामा सापकोटाकी पत्नी जमुना कुमारी विष्टले सांसद ज्ञवालीसहित चार जनाविरुद्ध किर्ते जालसाजीसम्बन्धी मुद्दा दायर गरेकी छन्।

विष्टले आफ्नो जानकारी र सहमतिबिना कम्पनीको सेयर किनबेच गरिएको आरोप लगाएकी छन्। उनका अनुसार विपक्षीहरूले २०८० माघ ५ गते उनको अनुपस्थितिमा सेयर खरिद–बिक्री गरी माघ २० गते सञ्चालक समितिको बैठक तथा माघ २२ गते विशेष साधारण सभा सम्पन्न गरेका थिए।

“मेरो हस्ताक्षर र उपस्थितिबिना विभिन्न निर्णय गरिएका छन्। जुन दिन सेयरबाट राजीनामा दिएको भनिएको छ, त्यो दिन म वडाकै काममा थिएँ। मेरो हस्ताक्षर किर्ते गरेर सेयर किनबेच गरिएको छ,” विष्टले दाबी गरिन्।

हाल उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ।

यता सांसद ज्ञवालीले भने सेयर हस्तान्तरणसम्बन्धी सम्पूर्ण प्रक्रिया कानुनी रूपमा पूरा गरिएको दाबी गर्दै आरोप अस्वीकार गरेकी छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अर्को विचाराधीन, #एकमा क्षतिपूर्ति आदेश, #रास्वपा सांसद कोमल ज्ञवालीविरुद्ध दुई मुद्दा


तपाईको कमेन्ट लेख्नुहोस्