Techie IT
आईतबार, जेठ १७,२०८३

बजेटमा समेटियो टोखा–छहरे सुरुङमार्ग, आगामी वर्ष सम्भाव्यता अध्ययन


काठमाडौं । सरकारले काठमाडौं उपत्यकालाई नुवाकोट हुँदै उत्तरी सीमा नाका केरुङसँग जोड्ने महत्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा हेरिएको टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा अघि बढाउने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गरिने घोषणा गर्नुभयो।

काठमाडौंबाट नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माण भए केरुङ नाकासम्मको यात्रा दूरी घट्ने, यातायात सहज हुने तथा चीनसँगको व्यापारिक आवागमनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यस मार्गलाई राजधानीलाई उत्तरी सीमासँग छोटो र रणनीतिक रूपमा जोड्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।

लामो समयदेखि चर्चामा रहेको यो आयोजना अझै कार्यान्वयन चरणमा प्रवेश गर्न सकेको छैन। विभिन्न सरकारका नीति तथा कार्यक्रम तथा बजेटमा पटक–पटक समावेश भए पनि निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

यसअघि पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय उठाइएको थियो तर त्यसलाई कार्यान्वयनमा लैजान सकिएको थिएन। हालको बजेटमार्फत सरकारले पुनः अध्ययन प्रक्रिया अघि बढाउने घोषणा गरेको हो। यससँगै सरकारले तेस्रो पटक बजेटमार्फत यो आयोजनाको सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखेको छ।

नुवाकोट हुँदै केरुङ नाका जोड्ने मुख्य मार्गका रूपमा हेरिएको यस परियोजनालाई अध्ययनमै सीमित नराखी निर्माण कार्य सुरु गर्न स्थानीयवासी तथा सरोकारवालाले लामो समयदेखि माग गर्दै आएका छन्। उनीहरूले आगामी वर्ष पर्याप्त बजेट सुनिश्चित गरी आयोजनालाई कार्यान्वयन चरणमा लैजानुपर्ने आवश्यकता औंल्याएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आगामी वर्ष सम्भाव्यता अध्ययन, #बजेटमा समेटियो टोखा–छहरे सुरुङमार्ग


तपाईको कमेन्ट लेख्नुहोस्