जुवाखालबाट विदुर नगरपालिका–६ का वडा अध्यक्ष सहित १७ जना पक्राउ, ४ लाख नगद बरामद
काठमाडौं । तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित छन्त्याल संघ नजिक सञ्चालन भइरहेको एक स्पा सेन्टरमा प्रहरीले आकस्मिक छापा मारेर अवैध जुवाखाल सञ्चालन भइरहेको खुलासा गरेको छ।
गोप्य सूचनाका आधारमा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै उक्त स्थानमा छापा मारेको हो। बाहिरबाट सामान्य स्पा सेन्टरका रूपमा देखिने सो स्थानभित्र ठूलो रकमको हारजित हुने गरी जुवा खेलाइँदै आएको सूचनापछि प्रहरी टोली निगरानीमा खटिएको थियो। त्यसपछि योजनाबद्ध रूपमा गरिएको कारबाहीमा तास खेलिरहेका व्यक्तिहरूलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका व्यवसायी, स्थानीय बासिन्दा तथा राजनीतिक पहुँच भएका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकामध्ये श्यामकृष्ण चालिसे पनि रहेका छन्। उनी विदुर नगरपालिका–६ का निर्वाचित वडा अध्यक्ष हुन्।
छापाका क्रममा प्रहरीले करिब चार लाख रुपैयाँ नगद बरामद गरेको जनाएको छ। साथै तासका गड्डी, मोबाइल फोन तथा जुवासँग सम्बन्धित अन्य सामग्री पनि नियन्त्रणमा लिइएको छ। पक्राउ परेका सबैलाई प्रहरी वृत्त बालाजु मा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यका भित्र स्पा, मसाज सेन्टर तथा मनोरञ्जन केन्द्रको आवरणमा अवैध गतिविधि बढ्दै गएको गुनासो आउने गरेको छ। कतिपय स्थान जुवा, अनैतिक गतिविधि तथा आपराधिक समूहको जमघटस्थल बन्न थालेपछि सुरक्षा निकायले निगरानी कडा बनाएको जनाएको छ। मनमैजुको यो घटनाले पनि त्यही प्रवृत्तिलाई उजागर गरेको प्रहरी अधिकारीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा राति शंकास्पद गतिविधि बढ्दै गएको थियो। राति अबेरसम्म मानिसहरूको आवतजावत, सवारी साधनको भीड तथा बाहिरी व्यक्तिहरूको बाक्लो उपस्थितिपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। त्यसकै आधारमा विशेष टोली परिचालन गरी छापा मारिएको बुझिएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धानपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै राजधानीका विभिन्न क्षेत्रमा सञ्चालित स्पा तथा मनोरञ्जन केन्द्रमाथि निगरानी अझ कडा पारिने संकेत पनि दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #४ लाख नगद बरामद, #जुवाखालबाट विदुर नगरपालिका–६ का वडा अध्यक्ष सहित १७ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्