Techie IT
बिहीबार, चैत्र १९,२०८२

बालेनको मन्त्री मण्डलमा परराष्ट्रको कमाण्ड शिशिरलाई , अन्य को को छन् मन्त्रीको सूचीमा ?


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र नयाँ सरकार गठनको तयारी तीव्र बन्दै जाँदा सम्भावित मन्त्रिमण्डलका लागि नाम छनोट प्रक्रिया अघि बढेको संकेत देखिएको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (‘बालेन’) ले सम्भावित मन्त्रीहरूको सूची तयार पार्न थालेको चर्चा छ।

पार्टीभित्रको सहमतिअनुसार सभापति रवि लामिछाने ले मन्त्रिमण्डल गठनमा सीमित भूमिका खेल्ने भएपछि मन्त्री छनोटको जिम्मेवारी मुख्यतः बालेनतर्फ केन्द्रित भएको स्रोतको दाबी छ। सोहीअनुसार विभिन्न मन्त्रालयका लागि नाम टुंग्याउने काम अघि बढिरहेको जनाइएको छ।

अर्थ मन्त्रालयका लागि तनहुँ–२ बाट निर्वाचित स्वर्णिम वाग्ले को नाम लगभग निश्चित भएको बताइएको छ। आर्थिक नीति र बजेट निर्माणमा उनको सक्रिय भूमिकाको अपेक्षा गरिएको छ। यसअघि एक कार्यक्रममा सभापति लामिछानेले वाग्लेलाई “तपाईं बजेट लेख्न थाल्नुस्” भनेको प्रसंगले पनि उनलाई अर्थमन्त्री बनाउने आन्तरिक तयारी रहेको संकेत मिलेको स्रोतको भनाइ छ।

मन्त्रालय घटाउने योजना

हालको प्रारम्भिक योजनाअनुसार मन्त्रिपरिषद्को आकार घटाएर १३ देखि १५ सदस्यीय बनाउने तयारी गरिएको छ। कम संख्यामा भए पनि प्रभावकारी र सशक्त टोली निर्माण गर्ने लक्ष्य राखिएको छ।

उद्योग, वाणिज्य तथा खानेपानीजस्ता मन्त्रालयलाई पुनर्संरचना वा एकीकरण गर्ने सम्भावना छ भने सहरी विकास लगायत अन्य मन्त्रालयहरूलाई पनि गाभेर सीमित मन्त्रालय बनाउने तयारी भइरहेको बताइएको छ।

कसलाई कुन मन्त्रालय ?

स्रोतका अनुसार डीपी अर्याल गृह मन्त्रालयमा दाबी गरिरहेका छन् भने शिशिर खनाल लाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको छ।

काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल लाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय दिने चर्चा छ, यद्यपि उक्त मन्त्रालयमा अन्य दाबेदारबीच प्रतिस्पर्धा कायमै रहेको बताइएको छ।

यस्तै, सागर ढकाल, सुदन गुरुङखगेन्द्र सुनार पनि सम्भावित मन्त्रीहरूको सूचीमा छन्।

सभापति लामिछानेको सिफारिसमा सोबिता गौतमतोसीमा कार्की पनि मन्त्री बन्ने सम्भावित सूचीमा रहेको बुझिएको छ। साथै, समन्वय क्षमता बलियो मानिएकी लीमा अधिकारी को पनि मन्त्री बन्ने सम्भावना उच्च रहेको छ।

यसैबीच, पूर्वमन्त्री बब्लु गुप्ता लाई पुनः युवा तथा खेलकुद मन्त्रालयमा दोहोर्याउने चर्चा छ। सर्लाही–४ बाट निर्वाचित मनिष झा पनि सम्भावित मन्त्रीहरूको सूचीमा रहेका छन्।

मन्त्रिमण्डल विस्तारअघि बालेनले आफ्ना नजिकका सहयोगीहरूसँग सुझाव लिइरहेको बताइएको छ। मन्त्री छनोटमा सांसदहरूको दाबी, राजनीतिक सन्तुलन र कार्यक्षमता मुख्य आधार हुने स्रोतको भनाइ छ।

नयाँ मन्त्रिपरिषद् गठन प्रक्रिया जारी रहेको र केही दिनभित्रै मन्त्रालय संख्या, नाम र जिम्मेवारी टुंग्याइने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #sishir khanal, #बालेनको मन्त्री मण्डलमा परराष्ट्रको कमाण्ड शिशिरलाई


तपाईको कमेन्ट लेख्नुहोस्