Techie IT
शुक्रबार, वैशाख ४,२०८३

जनताको विश्वासलाई राष्ट्रिय जिम्मेवारीका रूपमा लिन्छु : डा. अर्जुन कार्की


संखुवासभा । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि डा. अर्जुन कार्की ले संखुवासभाका मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्कीले संखुवासभावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूले दिएको अमूल्य मत र अपार मायाका कारण प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुन पाएको उल्लेख गर्नुभएको छ । मतपत्रमार्फत व्यक्त भएको विश्वास र भरोसालाई आफूले राष्ट्रिय जिम्मेवारीका रूपमा ग्रहण गरेको उहाँको भनाइ छ ।

उहाँले निर्वाचन शान्तिपूर्ण, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन योगदान पुर्‍याउने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

यसैगरी आफूलाई उम्मेदवार बनाएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक, बौद्धिक वर्ग तथा साथीभाइप्रति पनि कार्कीले आभार प्रकट गर्नुभएको छ । निर्वाचनमा प्रतिस्पर्धा गरेका अन्य राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई पनि उहाँले धन्यवाद दिनुभएको छ ।

कार्कीले यो विजय व्यक्तिगत नभई समग्र संखुवासभावासी जनताको आशा र भरोसाको जित भएको उल्लेख गर्नुभएको छ । सुशासन, विकास र समुन्नत भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धतासहित अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले सामाजिक न्याय, मानवअधिकार र लोकतन्त्रप्रतिको निष्ठा नै आफ्नो राजनीतिक मार्गदर्शन रहेको उल्लेख गर्दै मतदाताप्रतिको जिम्मेवारीबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै आफू हुर्किएको समाज र मातृभूमिप्रतिको कर्तव्य पूरा गर्ने अवसरका रूपमा यस जितलाई लिएको बताउनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #election, #hot, #nepal, #डा अर्जुन कुमार कार्की, #नेपाल कम्युनिष्ठ पार्टी एमाले, #बिजय, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्