Techie IT
शुक्रबार, चैत्र २०,२०८२

संखुवासभामा डा. अर्जुन कार्कीको १० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक

पूर्वाधारदेखि रोजगारीसम्म जिल्लाको समग्र विकासमा जोड


संखुवासभा  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै डा. अर्जुन कार्की ले आफ्नो १० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका कार्कीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई केन्द्रमा राख्दै जिल्लाको समग्र विकासको खाका प्रस्तुत गर्नुभएको हो ।

संखुवासभा लाई क्षेत्रीय आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सडक स्तरोन्नति, डिजिटल शिक्षा विस्तार, स्वास्थ्य सेवा सुदृढीकरणदेखि समावेशी विकाससम्मका योजना समेटिएका छन् ।

मुख्य प्रतिबद्धताहरू

१. व्यापारिक पूर्वाधार र सडक सुधार
कार्कीले किमाथाङ्का नाकाको स्तरोन्नति गर्दै खाँदबारी–किमाथाङ्का र खाँदबारी–जोगवनी सडकलाई स्तरउन्नति गरी जिल्लालाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ ।

२. शिक्षा र युवा स्वरोजगार
डिजिटल शिक्षा विस्तार, प्राविधिक तथा सीपमूलक तालिममा लगानी गर्दै युवालाई जिल्लाभित्रै रोजगारी र उद्यमशीलतामा जोड्ने लक्ष्य राखिएको छ ।

३. स्वास्थ्य सेवाको सुदृढीकरण
जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने तथा सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

४. कृषि, जडीबुटी र पर्यटन प्रवर्द्धन

  • कृषि: बाली पकेट क्षेत्र निर्धारण, सिँचाइ विस्तार र शीत भण्डार निर्माण ।

  • जडीबुटी: स्थानीय प्रशोधन केन्द्र स्थापना, बजार विस्तार र निर्यात प्रवर्द्धन ।

  • पर्यटन: प्राकृतिक तथा धार्मिक स्थल संरक्षणसँगै दिगो पर्यटन विकास ।

५. समावेशी विकास र सुशासन
महिला, दलित, आदिवासी जनजाति तथा विपन्न समुदाय लक्षित कार्यक्रम प्रभावकारी बनाउने र सार्वजनिक सेवालाई प्रविधिमैत्री, पारदर्शी तथा जवाफदेही बनाउने प्रतिबद्धता जनाइएको छ ।

उम्मेदवार डा. कार्कीले संखुवासभाका जल्दाबल्दा समस्याहरूलाई सदन र अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाउने संकल्प समेत गर्नुभएको छ । “समृद्ध संखुवासभा, मेरो जिम्मेवारी” भन्ने नाराका साथ चुनावी मैदानमा होमिनुभएका उहाँले ‘सूर्य’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदाताहरूसँग अपिल गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #डा. अर्जुन कार्की, #निर्वाचन, #नेकपा एमाले, #प्रतिनिधि सभा चुनाव, #प्रतिबद्धता पत्र, #फागुन २१, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्