Techie IT
मंगलबार, फागुन १२,२०८२

संखुवासभामा कांग्रेसको ५ वर्षे प्रतिबद्धता पत्र सार्वजनिक,


संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले आगामी पाँच वर्षका लागि आफ्नो विकास तथा समृद्धिको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय खाँदबारीमा आयोजित कार्यक्रममा कार्यवाहक सभापति अनन्तकुमार गौलीले प्रतिबद्धता पत्रबारे जानकारी गराउँदै जिल्लाको समग्र विकासका लागि स्पष्ट कार्ययोजना अघि सारिएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं अनुशासन समितिका संयोजक तारामान गुरुङ, जिल्ला तथा क्षेत्रीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ दिपनकुमार श्रेष्ठ र समानुपातिकतर्फ थलकुमार लिंखालाई उम्मेदवार बनाएको कांग्रेसले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिबद्धता पत्रमा जिल्ला अस्पतालको स्तरोन्नति, दुर्गम क्षेत्रमा सडक विस्तार, विद्युत् तथा सञ्चार सेवा विस्तार, युवा स्वरोजगार कार्यक्रम, कृषि उत्पादनको बजारीकरण, पर्यटन पूर्वाधार विकास तथा सुशासन प्रवर्द्धनजस्ता कार्यक्रम समेटिएका छन् ।

कार्यवाहक सभापति गौलीले कांग्रेसले विगतका अनुभव र जनताको सुझावलाई समेटेर यथार्थपरक तथा कार्यान्वयनयोग्य योजना सार्वजनिक गरेको उल्लेख गर्दै जनताले विश्वास गरेमा प्रतिबद्धता अनुसार काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्ने अन्य नेताहरूले पनि संखुवासभाको दिगो विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।
नेपाली कांग्रेसले “बदल्यौ कांग्रेस, बदल्छौ देश” र “समुन्नत नेपाल, सम्मानित नेपाली” भन्ने नारासहित आगामी पाँच वर्ष जिल्लाको समृद्धिका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : निर्वाचन बिशेष, समाचार
ट्याग : #hot, #दिपन कुमार श्रेष्ठ, #निर्वाचन, #नेपाली कांग्रेस, #प्रतिबद्धता पत्र, #फागुन २१, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्