एमालेको विजयलाई यसपटक पनि कसैले रोक्न सक्दैन : आनन्द पोखरेल
काठमाडौं । नेकपा (एमाले)का नेता आनन्द पोखरेलले आगामी निर्वाचनलाई ‘सत्ता परिवर्तनको मात्र प्रक्रिया नभई देशको स्वाधीन र आत्मनिर्भर राजनीतिक दिशा तय गर्ने निर्णायक घडी’का रूपमा व्याख्या गरेका छन् । उनले एमालेको जितलाई नै ‘सार्वभौमसत्ता र नेपालीको जित’ भएको दाबी गरेका छन् ।
एक लिखित धारणा सार्वजनिक गर्दै नेता पोखरेलले वर्तमान राजनीतिक परिस्थितिमा एमाले देशी–विदेशी शक्ति, प्रतिस्पर्धी दल तथा ‘विभिन्न प्रतिक्रियावादी स्वार्थ’को दबाबमा परेको अनुभूति कार्यकर्ता र समर्थकले गरिरहेको उल्लेख गरेका छन् । उनका अनुसार यस्तो ‘घेराबन्दी’ चिर्दै निर्वाचन जित्न भावनात्मक नाराभन्दा पनि राजनीतिक, संगठनात्मक र व्यवहारिक कदम चाल्नुपर्ने आवश्यकता छ ।
‘यो केवल निर्वाचन प्रक्रिया जस्तो देखिए पनि सारमा नेपाली मूलधारको राजनीतिबाट एमालेलाई बाहिर धकेल्ने षड्यन्त्र हो,’ उनले भनेका छन्, ‘यो हाम्रो पार्टी, केपी ओली, मार्क्सवाद र राष्ट्रियताविरुद्धको अभियान हो ।’
पोखरेलले एमालेमाथिको दबाब पार्टीको कमजोरीका कारण नभई राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र स्थायित्वको राजनीतिप्रतिको दृढ अडानका कारण आएको जिकिर गरेका छन् । बाह्य शक्तिसामु नझुक्ने नेतृत्व ‘स्वार्थ साधनको बाधक’ बनेकाले निर्वाचनमार्फत एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको उनको आरोप छ ।
उनले भदौ २४ को ‘विध्वंस’पछि सुरु भएको राजनीतिक क्रमकै निरन्तरता वर्तमान निर्वाचन भएको उल्लेख गर्दै यसलाई एमालेविरुद्ध प्रयोग गर्न खोजिएको ‘हतियार’को संज्ञा दिएका छन् ।
इतिहासमा कम्युनिष्ट आन्दोलनले घेराबन्दी र दमन सामना गर्दै विजय हासिल गरेको स्मरण गराउँदै उनले एमाले कुनै पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताए । ‘हाम्रो मार्गदर्शन जनताको बहुदलीय जनवाद हो । प्रतिस्पर्धामार्फत जनताको मत, विश्वास र सहभागिताबाट राजनीति गरेका छौँ,’ उनले उल्लेख गरेका छन् ।
पोखरेलले २०४८ सालदेखि ‘जनताको भट्टिमा खारिएर’ आएको एमालेको विजयलाई यसपटक पनि कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले निर्वाचन जित्ने आधार गठबन्धन वा ‘अनुचित लेनदेन’ नभई जनताको बलियो समर्थन नै भएको दाबी गरे ।
आगामी निर्वाचनमा जनजीविकाका मुद्दा महँगी, रोजगारी, किसान–मजदुरका समस्या, विकास–समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ ।
युवाको विश्वास जित्न स्पष्ट कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले सीप, उद्यमशीलता र प्रविधिमा आधारित अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘युवाले भाषण होइन, भविष्यको खाका खोजिरहेका छन्,’ उनले भनेका छन्, ‘अवसरका लागि विदेश होइन, देशमै सम्भावना सिर्जना गर्ने दृष्टि एमालेले प्रस्तुत गर्नुपर्छ ।’
उनले पार्टीभित्र आन्तरिक एकता पहिलो शर्त भएको उल्लेख गर्दै ‘निर्णायक संघर्षमा पार्टीको निर्णयभन्दा माथि केही हुँदैन’ भन्ने सन्देश दिएका छन् । उनले सबै पार्टी शक्तिलाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आह्वान गरेका छन् ।
‘यो चुनाव कुनै एक दलको मात्र होइन, जनताको सार्वभौम अधिकार र लोकतन्त्रको भविष्यसँग जोडिएको विषय हो,’ पोखरेलले भनेका छन्, ‘एमालेको जित नै सार्वभौमसत्ता र नेपालीको जित हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आनन्द पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्