७७ वर्षको इतिहास बोकेको शिवपुरी माध्यमिक विद्यालयको स्थापना दिवस सम्पन्न
काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले आफ्नो ७७ औँ स्थापना दिवस बुधबार विविध कार्यक्रमका साथ मनाएको छ। देशभरका सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित शिवपुरी विद्यालय राणा शासनकालमै स्थापना भएको ऐतिहासिक शैक्षिक संस्था हो।
तत्कालीन सरकारले २००५ सालमा स्थापना गरेको विद्यालयले विभिन्न कालखण्ड पार गर्दै आजको आधुनिक शैक्षिक संरचना हासिल गरेको प्रधानाध्यापक प्रकाश सुवेदीले जानकारी दिए। सुरुमा बाँसबारी आधार पाठशाला, बाँसबारी मिडिल स्कुल र बाँसबारी माध्यमिक विद्यालयका रूपमा चिनिँदै आएको यो संस्था २०३० को दशकको सुरुवातदेखि शिवपुरी माध्यमिक विद्यालयका रूपमा स्थापित छ।
काठमाडौं महानगरपालिकाले कम्प्युटर शिक्षातर्फ प्राविधिक शिक्षालयका रूपमा विकास गरेको शिवपुरीमा कक्षा १ देखि १२ सम्मका साथै व्यवस्थापन र मानविकी विषयमा स्नातक तहसम्मको पठनपाठन हुँदै आएको छ। हाल विद्यालयमा ५३ जना शिक्षक र ८ जना कर्मचारी कार्यरत छन् भने १ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले शिवपुरी सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको बताइन्। उनले विद्यालय र विद्यार्थीको आचरण, अनुशासन र भविष्य अझै उज्ज्वल हुनेमा विश्वास व्यक्त गर्दै प्रविधिसँग जोडिएको उच्चस्तरीय शिक्षामा जोड दिन सुझाव दिइन्।
प्रधानाध्यापक सुवेदीका अनुसार सामान्य आर्थिक अवस्था भएका परिवारदेखि विभिन्न सामाजिक पृष्ठभूमिका विद्यार्थीको रोजाइमा शिवपुरी विद्यालय पर्दै आएको छ। दीर्घ इतिहास, शैक्षिक गुणस्तर र समावेशी पहुँचका कारण शिवपुरी आज पनि सामुदायिक शिक्षाको नमुना संस्थाका रूपमा स्थापित छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्