Techie IT
शुक्रबार, चैत्र २०,२०८२

संखुवासभामा एमालेको चुनावी तयारी तीव्र


संखुवासभा, माघ १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले संखुवासभाले जिल्लाभर संगठित र सशक्त चुनावी अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
यसका लागि पार्टीले जिल्लास्तरमा एक हजार एक सदस्यीय प्रचारप्रसार कमिटी गठन गरेको छ । बुधबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन आवश्यक कमिटीहरू गठन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ठूला स्थानीय तहमा ५०१ सदस्यीय र साना स्थानीय तहमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । ती कमिटीमार्फत वडा, टोल तथा बस्तीस्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गरिनेछ ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. अर्जुन कार्कीको तर्फबाट जिल्ला कमिटी सचिवालय सदस्य किरणकुमार शाक्यले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावी प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार प्रचार सामग्रीको तयारी र वितरणदेखि सवारी साधनको प्रयोगसम्मका सबै गतिविधि योजनाबद्ध, व्यवस्थित र आचारसंहिता अनुरूप अघि बढाइनेछ ।
पार्टीले माघ १५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार कार्यक्रमको विस्तृत कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##पत्रकार सम्मेलन, #चुनाव, #निर्वाचन, #नेकपा एमाले, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्