Techie IT
शनिबार, माघ ११,२०८२

मनाङमा लामा गुरु र समुदायको सहमतिमा एमाले पछि हट्यो, आगामी निर्वाचनमा कांग्रेसले एमालेलाई सघाउने


मनाङ । मनाङमा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन नलड्ने भएको छ। एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेको उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पनि मनाङमा चुनाव नलड्ने निर्णय गरेको छ। राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले पनि मनोनयन फिर्ताका लागि निवेदन दिएका छन्।

स्रोतका अनुसार एमालेले मनाङमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ। एमाले र राप्रपाको उम्मेदवारी फिर्तापछि अब मनाङमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। नेकपाले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ।

किन फिर्ता लियो एमालेले ?

मनाङमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी बनेपछि स्थानीय लामा गुरुहरूले सहमतिको प्रयास गरेका थिए। चुनावका क्रममा झै–झगडा तथा कहिलेकाहीँ अप्रिय घटना हुने गरेको भन्दै यसपटक प्रमुख दलहरू मिलेर चुनावमा जाने प्रस्ताव गरिएको थियो।

बिहीबार भ्राताङमा आयोजित भेलामा दुवै दलका उम्मेदवार सहमतिमा नआएपछि चिट्ठा ९लटरी० मार्फत निर्णय गर्ने प्रस्ताव गरियो। कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ र एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङको उपस्थितिमा चिट्ठा तान्दा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा गर्ने र एमालेले उम्मेदवारी फिर्ता लिने निर्णय भएको हो।

सोही सहमतिअनुसार शुक्रबार बिहान एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङले मनोनयन फिर्ता लिएका हुन्। मनाङमा यस प्रकारको सहमतिपूर्ण निर्णय गर्ने परम्परा पुरानै रहेको बताइन्छ।

चिट्ठाको सहमतिअनुसार प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा भने एमालेले उम्मेदवारी पाउने र आगामी निर्वाचनमा कांग्रेसले एमालेका उम्मेदवारलाई सघाउने समझदारी भएको स्रोतले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार मनोनयन फिर्तासम्बन्धी निवेदनमाथि शुक्रबार अपराह्न ३ बजेपछि मात्रै औपचारिक निर्णय हुने छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आगामी निर्वाचनमा कांग्रेसले एमालेलाई सघाउने, #मनाङमा लामा गुरु र समुदायको सहमतिमा एमाले पछि हट्यो


तपाईको कमेन्ट लेख्नुहोस्