काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ ।
मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गरेको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी संकलन गरिएको हो ।
आयोगका अनुसार दर्ता भएका उजुरीहरूको बुधबार साँझ नै जाँचबुझ सकिएको छ । सोही आधारमा आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्न लागिएको हो ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । साथै, माघ ९ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।






तपाईको कमेन्ट लेख्नुहोस्