Techie IT
आईतबार, जेठ ३,२०८३

कांग्रेस विशेष महाधिवेशन: लुम्बिनी प्रदेशका प्रतिनिधिद्वारा नेतृत्व र नीतिमा व्यापक सुधारको माग


काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा लुम्बिनी प्रदेशका तर्फबाट सहभागी नेताहरूले पार्टीको साङ्गठनिक ढाँचा र राष्ट्रिय नीतिमा आमूल परिवर्तनको सुझाव दिएका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि टिप्पणी गर्दै लुम्बिनीका प्रतिनिधिहरूले विशेष गरी महिला सहभागिता, सुशासन र ग्रामीण विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशकी प्रतिनिधि अनिता शाहले कांग्रेसको प्रतिवेदनमा लोकतन्त्र र पारदर्शिताका विषयहरू स्पष्ट रूपमा लेखिनुपर्नेमा जोड दिइन्। उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि सुधार गर्न सकारात्मक सन्देश दिनुपर्ने र वैदेशिक सम्बन्धलाई राजनीतिक नभई सरकारी कूटनीतिको रूपमा विकास गर्नुपर्ने बताइन्। साङ्गठनिक सुधारका सम्बन्धमा बोल्दै उनले पार्टी नेतृत्वमा महिलाहरूको सहभागिता ४० प्रतिशत पुर्‍याउनुपर्ने माग गरिन्। साथै, हालको केन्द्रीय समितिको आकार निकै ठूलो र भद्दा भएको टिप्पणी गर्दै उनले यसलाई सानो र चुस्त–दुरुस्त बनाउनुपर्ने सुझाव दिइन्।

लुम्बिनी प्रदेशकै तर्फबाट गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले महामन्त्री शर्माको प्रतिवेदनमाथि सुझाव दिँदै कांग्रेसले सुशासनको मागलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताए। सिंहदरबारका कर्मचारीहरूलाई सुशासनको पाठ सिकाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले गगन र विश्वप्रकाशलाई कार्यकर्ताले किन नेतृत्वमा खोजिरहेका छन् भन्ने कुरा सभापति शेरबहादुर देउवाले गम्भीरतापूर्वक बुझ्नुपर्ने टिप्पणी गरे।

पन्थीले नेतृत्व र नीतिका पहरेदारहरू सहरमा मात्र केन्द्रित नभई गाउँ–गाउँ पुग्नुपर्ने र विकासका कार्यक्रमहरूलाई गाउँमुखी बनाउनुपर्नेमा जोड दिए। “आज पहाड रित्तिएको छ, गाउँका युवाहरूलाई गाउँमै सीप र रोजगारी दिने शिक्षाको खाँचो छ,” उनले भने। मन्त्री हुँदा आफ्नै गाउँ र टोलमा मात्र बजेट लैजाने परिपाटीको अन्त्य गर्दै आवश्यकताका आधारमा विकास गर्नुपर्ने र बिरामी पर्दा नागरिकले राज्यको सुविधा सहजै पाउने वातावरण बनाउनुपर्ने उनको सुझाव थियो।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस विशेष महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्