Techie IT
आईतबार, जेठ ३,२०८३

दिल्लीमा प्रचण्ड र डोभालबीच डेढ घण्टा ‘डिनर मिटिङ’


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार राति नयाँ दिल्लीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालसँग डिनर मिटिङ गरेका छन् ।

डोभालले प्रचण्डका लागि नयाँ दिल्लीको ताजमान सिंह होटलमा डिनरको आयोजना गरेका थिए । भेटवार्तामा प्रचण्डकी छोरी तथा पार्टी केन्द्रीय सदस्य गंगा दाहाल पनि उपस्थित थिइन् ।

स्रोतका अनुसार डोभाल र प्रचण्डबीच करिब डेढ घण्टा वार्ता भएको हो । उनीहरुबीच नेपालको हालैको आन्दोलन, त्यसपछिको विकसित घटनाक्रम र आसन्न निर्वाचन लगायतको विषयमा छलफल भएको थियो ।

प्रचण्डसँगको भेटमा डोभालले नेपालले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा अब तत्काल चुनावमा जानु नै उपयुक्त हुने सुझाएका थिए । डोभालका अनुसार भारतले आफ्नो छिमेकी मुलुकमा स्थिरता चाहेको छ र त्यसका लागि अहिलेको अवस्थामा चुनावमा जानु नै सबैभन्दा उत्तम विकल्प हो ।

प्रचण्डले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का केही नेताहरूसँग पनि भेटेको स्रोतको दाबी छ ।

संयोजक प्रचण्ड पार्टीको नेपाली प्रवासी संगठनको एक कार्यक्रमका लागि आइतबार नयाँ दिल्ली पुगेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दिल्लीमा प्रचण्ड र डोभालबीच डेढ घण्टा ‘डिनर मिटिङ’


तपाईको कमेन्ट लेख्नुहोस्