हेटौँडा । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजित वनभोज कार्यक्रममा सहभागी हुन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर प्रयोग गरेर सिरहा पुगेपछि उनको कदमलाई लिएर चर्को आलोचना सुरु भएको छ।
नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवको निमन्त्रणामा धनगढीमाई नगरपालिका–१४ मा आयोजित वनभोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमार्फत सिरहा पुगेका हुन्। निजी तथा पार्टीगत कार्यक्रममा सहभागी हुन राज्य स्रोतसाधन प्रयोग गरिएको भन्दै स्थानीय राजनीतिक वृत्त र बुद्धिजीवीहरूले आपत्ति जनाएका छन्।
आफ्नै पार्टीका नेताले आयोजना गरेको कार्यक्रम भए पनि वनभोजजस्तो अनौपचारिक कार्यक्रममा मुख्यमन्त्रीले हेलिकोप्टर प्रयोग गर्नु राज्य स्रोतको दुरुपयोग भएको आरोप छ।
निजी भेटघाट वा साथीभाइको जमघटमा सहभागी हुन राज्यको ढुकुटी खर्चिनु अनुचित र गैरजिम्मेवार कार्य हो।
स्थानीय बुद्धिजीवीहरूले उक्त वनभोजलाई सामान्य नयाँ वर्षको उत्सव मात्र नभई आगामी निर्वाचन लक्षित गतिविधिको प्रारम्भको रूपमा समेत व्याख्या गरेका छन्। यस घटनाले प्रदेश सरकारको कार्यशैली र स्रोत प्रयोगबारे पुनः बहस चर्काएको छ।






तपाईको कमेन्ट लेख्नुहोस्