एमाले अध्यक्षमा ईश्वर पोखरेलको दाबी, आज पार्टीमा औपचारिक प्रस्ताव
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज बस्ने सचिवालय बैठकमा पार्टीको भावी अध्यक्षका लागि औपचारिक रूपमा दाबी पेश गर्ने तयारी गरेका छन्। मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशनको तयारीसहितका एजेन्डा लिएर दिउँसो १ बजे बैठक बोलाइएको छ, जहाँ पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्षका रूपमा अघि सार्न प्रस्ताव राख्ने एक निकट स्रोतले जानकारी दियो।
एक पदाधिकारीका अनुसार, पोखरेलको प्रस्तावमा सहमति जुटेन भने नेतृत्व चयन प्रक्रियालाई चुनावी प्रतिस्पर्धातर्फ लैजाने तयारी हुनेछ। सचिवालय बैठकपछि उत्पन्न हुने अवस्थाका आधारमा आगामी रणनीतिसमेत तय गरिने बताइएको छ।
केही दिनअघि अपिल जारी गर्दै पोखरेलले आगामी महाधिवेशनमा राजनीतिक, संगठनात्मक प्रस्ताव तथा विधानमा आवश्यक बहस र नयाँ निष्कर्ष अपरिहार्य रहेको बताएका थिए। उनले देशभर मंसिर १३ मा एकैदिन हुने महाधिवेशन प्रतिनिधि छनोटमा जबजको संगठनात्मक सिद्धान्तअनुसार उत्साहपूर्वक सहभागी हुन सबै पार्टी सदस्यलाई आह्वान गरेका थिए।
यसबीच, सदस्यता नवीकरण रोकिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले खुला रूपमा पोखरेललाई समर्थन गर्ने निर्णय गरेकी छन्। उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सचिवद्वय योगेश भट्टराई तथा गोकर्ण विष्टसहितका नेताहरू पनि अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिनुपर्छ भन्ने धारमा छन्। भण्डारीको सदस्यता रोक्न नहुने माग उठेपछि तल्लो तहका नेता–कार्यकर्ता पनि असन्तुष्ट बनेका छन्।
यता, अध्यक्ष ओली भने नेतृत्व छाड्ने मनस्थितिमा नरहेको स्पष्ट सन्देश दिइरहेका छन्। केही नेताहरूले पार्टी पुनर्गठनको नाममा अनुशासनहीन गतिविधि गरेपछि महाधिवेशन डाकिएको उल्लेख गर्दै उनले कडा भाषा प्रयोग गरेका थिए। उनका अनुसार, “महाधिवेशनमा पुनर्गठन गरौँ, काम गर्ने रहून्, नगर्नेहरू टाढा जाऊन। कार्यकर्ताले नै निर्णय गर्छन्।”
ओलीले प्रतिक्रियावादविरुद्ध लड्नु पर्ने समयमा आफूलाई राजीनामा मागेर दबाब दिने क्रमले असन्तुष्टि बढाएको बताएका छन्। उनका निकट नेताहरू ओलीबाहेक अरूले नेतृत्व गर्न नसक्ने तर्क अघि सारिरहेका छन्, भने अर्कोतिरका नेताहरू यसलाई सत्तासमीकरण गुम्ने डरसँग जोडेर व्याख्या गर्छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्