पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन् बाबुरामको प्रस्ताव
पुराना राजनीतिक दलहरूलाई निर्वाचनबाट नै परास्त गर्ने गरी नयाँ र वैकल्पिक शक्तिहरूले छलफल प्रारम्भ गरेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा, उज्यालो नेपाल अभियानका नेताहरूसँग भट्टराईले छलफल गरेका हुन् ।
बिहीबार बिहान नयाँ बानेश्वरमा भएको छलफलमा भट्टराईले जेनजी विद्रोहका कारण दुलामा लुकेका पुराना भ्रष्ट नेताहरूले फेरि टाउको उठाउने प्रयास गरेको भन्दै उनीहरूलाई निर्वाचनबाटै परास्त गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी भएका सुदन किरातीले जानकारी दिए ।
‘बाबुराम भट्टराईको अग्रसरतामा पुराना भ्रष्ट शक्तिहरूलाई कसरी परास्त गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भयो । जेनजी विद्रोहपछि पुराना भ्रष्ट शक्तिहरू रूपान्तरित हुनुभन्दा अझै हुँकार गर्न थालेका छन् । जेनजी विद्रोह सामान्यकरण हुँदै गयो । भ्रष्ट दलहरूलाई निर्वाचनबाट नै पराजित गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो’, किरातीले भने ।
भट्टराईले जनतामा बढ्दै गएको निराशालाई चिर्न नसकिए देशमा झन् ठुलो खतरा बढ्न सक्नेतर्फ नेताहरूलाई सचेत गराएका थिए । उनले भने–‘झिना मसिना स्वार्थ छोडेर सम्पूर्ण नयाँ शक्ति एक ठाउँमा आएर निर्वाचनमा जानुपर्छ । जनतामा देखिएका व्याप्त निराशालाई अन्त्य गर्न नसकिए देश झन् ठुलो खतरामा पर्नसक्छ ।’
भट्टराईको प्रस्तावलाई सहभागी सबैले सकारात्मक रूपमा लिएको र आगामी दिनमा छलफललाई निरन्तरता दिनेगरी बिट मारेको किराँतीले बताए । छलफलमा भट्टराई सहित रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा, सुदन किराँती, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा लगायत नेताहरू सहभागी थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्