प्रेमिकाको हत्या गर्न १ लाखको सुपारी, कार दुर्घटनाले बच्यो ज्यान
–कृष्ण पौडेल
कपिलवस्तु, १८ कात्तिक । तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकामाथि हत्या प्रयास गरेको अभियोगमा भारतको उत्तर प्रदेशका ३५ वर्षीय हफिजूल्लाह मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मुसलमानले आफ्नी ४० वर्षीया प्रेमिकाको हत्या गर्न एक लाख भारतीय रुपैयाँमा सुपारी दिएर भाडाका व्यक्तिहरू समेत परिचालन गरेका थिए । तर योजनाअनुसार कार दुर्घटना भई घटना फिल्मी शैलीमा असफल भएको हो ।
गत कात्तिक १५ गते विवाह गर्ने बहानामा प्रेमिकालाई चन्द्रौटा बोलाएका मुसलमानले हत्याको योजना तयार पारेका थिए । उनीहरू हत्याका लागि भाडामा लिएका व्यक्तिहरूसहित एउटै कार (यूपी ५५ एबी ६९७९)मा चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै थिए ।
लौसा गाउँ नजिक पुग्दा मुसलमानले नाइलनको डोरीले प्रेमिकाको घाँटी कसेर हत्या गर्ने प्रयास गरे । तर महिलाले ज्यान जोगाउन प्रतिकार गर्दा उनको खुट्टा कारको स्टेरिङमा ठोक्किएपछि सवारी अनियन्त्रित भएर विपरीत दिशाबाट आइरहेको ट्रक (ना १ ख ४९५०)सँग ठोक्कियो ।

दुर्घटनापछि महिलाले चिच्याएर गुहार मागेपछि ट्रक चालक र सहचालकले मुसलमानलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरे र पीडित महिलाको उद्धार गरी अस्पताल पठाए ।
प्रहरी अनुसन्धानका अनुसार मुसलमान र पीडित महिला तीन वर्षदेखि लिभिङ टुगेदरमा थिए । गत असोज ३१ गते बुटवलमा सँगै हुँदा महिलाले मुसलमानको मोबाइलबाट दुवैको तस्वीर उनकी श्रीमतीको मोबाइलमा पठाएकी थिइन् । त्यसपछि उनको पारिवारिक सम्बन्ध बिग्रिएपछि उनले बदला स्वरूप प्रेमिकाको हत्या गर्ने योजना बनाएका थिए ।
‘परिवार बिगारेको आरोपमा उनले कोर्ट म्यारिज गर्ने बहानामा प्रेमिकालाई बोलाएको देखिन्छ,’ प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।
प्रहरीले घटनास्थलबाट नाइलन डोरी, गम्छा र केही भारतीय समाचार च्यानलको नाम लेखिएको माइक (बुम) बरामद गरेको छ । मुसलमान सञ्चारकर्मी हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
पीडित महिलाको जाहेरीका आधारमा मुसलमानलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साथै, घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेमिकाको हत्या गर्न १ लाखको सुपारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्