Techie IT
बुधबार, जेठ १,२०८२

बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले दैनिक दुई हजार मानिसलाई निःशुल्क खाना खुवाउँदै


बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले दैनिक दुई हजार मानिसलाई निःशुल्क खाना खुवाउँदै आएको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूर, विद्यार्थी, विपन्न परिवारलगायतलाई खाना खुवाइएको वडाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।

दैनिक दुई हजार जनाका लागि खाना तयार गरेर स्वयंसेवकको सहयोगमा पोको पारी वडा नं १० का विभिन्न स्थानमा रहेका वितरणस्थलसम्म लैजाने काम भइरहेको बताइएको छ ।

निःशुल्क खाना खुवाउन स्थानीय समाजसेवी, उद्यमी, व्यापारी, महिला समूहलगायतले सहयोग गरेको समाजसेवी विद्या सुवेदी(विना)ले बताउनुभयो । बूढानीलकण्ठ– १० ले शुरु गरेको सो अभियानमा दैनिक २५ भन्दा बढी स्वयंसेवक परिचालित छन् । दैनिक चार सय केजी चामल, ६० केजी गेडागुडी, एक बोरा आलु तथा सय केजीसम्म तरकारी उपयोग हुँदै आएको जनाइएको छ ।

वडाका विभिन्न क्षेत्रबाट आएको मागका आधारमा १० स्थानबाट निःशुल्क खाना वितरण हुँदै आएको हो । त्यस्तै नगरपालिकास्थित सिद्धेश्वरी लोकसाधनाले दैनिक २५० स्वास्थ्य तथा सुरक्षाकर्मीलाई दिवा खाजा खुवाउँदै आएको छ ।

यसैगरी बूढानीलकण्ठ ७ हात्तीगौँडास्थित छहारी संस्थाले लकडाउनका कारण खाना समस्यामा परेका एक हजार मानिसलाई खाना खुवाउँदै आएको छ ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूर, विद्यार्थी, एकल महिला, जेष्ठ नागरिकलगायतलाई निःशुल्क खाना खुवाइँदै आएको संस्थाका अध्यक्ष लिली थापाले बताउनुभयो ।

बूढानीलकण्ठ– १ देखि ९ सम्मका विपन्न परिवारलाई छहारीले बेलुका निःशुल्क खाना खुवाउँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठ नगरपालिका वडा नं १०


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:13 am6:46 pm +0545