८० दिनपछि खुल्यो खाँदबारी–किमाथाङ्का सडक
संखुवासभा, २ कात्तिक : बिगत तीन महिनादेखि अवरुद्ध रहेको खाँदबारी–किमाथाङ्का सडक अन्ततः खुल्दै संखुवासभाको दुर्गम भोटखोला क्षेत्र पुनः देशको मूल सञ्जालसँग जोडिएको छ।
भोटखोला गाउँपालिका–५ समटार र अल्फाटे क्षेत्रमा भदौ १५ गते गएको भीषण पहिरोपछि काेशी राजमार्ग अन्तर्गत पर्ने यो खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसपछि सडक मर्मतका लागि स्थानीय, निर्माण व्यवसायी र कोशी सडक आयोजनाका प्राविधिकले करिब ८० दिनसम्म निरन्तर प्रयास गरे।
उत्तर–दक्षिण काेशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार कठिन भू–भाग, अस्थिर भू–संरचना र लगातारको वर्षाका कारण मर्मत कार्य लामो समय लम्बिएको थियो।
“स्थानीयको श्रम, मेसिनरी सहयोग र अनवरत प्रयासकै परिणामस्वरूप अब एकतर्फी सवारी सञ्चालन सम्भव भएको छ,” गुरुङले बताए।
सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन चल्न थालेका छन्। लामो समयसम्म सडक बन्द हुँदा भोटखोला र मकालुका बासिन्दा बजार आपूर्ति, औषधि, इन्धन र शैक्षिक सामग्री अभावमा निकै कठिन जीवन बिताइरहेका थिए।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सडक पुनः सञ्चालनमा आएसँगै स्थानीयवासीले ठूलो राहत पाएको बताए।
“सडक जीवनरेखा हो, ८० दिनपछि फेरि चल्न थालेकोमा सबै खुसी छन्,” उनले भने, “अब पुनः अवरोध नहोस् भनेर हामी संरक्षण र नियमित मर्मतमा स्थानीयस्तरबाटै सक्रिय रहनेछौं।”
काेशी राजमार्गलाई पूर्वी नेपालको रणनीतिक र व्यापारिक नाका मानिन्छ। यो सडक चीनको सीमा बिन्दु किमाथाङ्कासम्म पुग्ने योजना अनुसार निर्माण भइरहेको छ। सडक सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा सामग्री ढुवानी र स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भोटखोलाका स्थानीय डुक्पा थिकेपा भन्छन्, “पहिरोले थुनिएको बाटो खुलेपछि अब अस्पताल, बजार पुग्न सजिलो भएको छ।”
अवरुद्ध सडक खुलेसँगै दुर्गम क्षेत्रका जनजीवन सामान्य बन्दै गएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #उत्तरी चीन तर्फको सीमा नाका, #कोशी राजमार्ग, #खादबारी, #संखुवासभा, #सुख्खा पहिरोले बिराटनगर - किमाथांका जोड्ने कोशी राजमार्ग अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्