Techie IT
आईतबार, जेठ ३,२०८३

टोखा बिष्णुमती प्रहरी चौकी पुनर्निर्माणमा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ र स्थानीय युवाको सक्रिय सहभागिता


टोखा, काठमाडौं । जेनेरेशन जेड आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको बिष्णुमती प्रहरी चौकीलाई पुनः सञ्चालनमा ल्याउनका लागि टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ सक्रिय रुपमा लागिपरेका छन्।

वडा अध्यक्ष श्रेष्ठले स्थानीय युवाहरू, समाजसेवी तथा टोल विकास समितिहरूलाई समेटेर चौकी परिसरमा सरसफाइ अभियान सञ्चालन गरेका छन्। चौकी वरिपरिको फोहर सफा गर्दै आगोको ध्वासो र ग्राफिटी मेट्ने कार्य भइरहेको छ। उनले भने, “प्रहरी चौकी सुरक्षाको आधारभूत संरचना हो। यो पुनः निर्माण र सफा नगरेसम्म समुदायमा शान्ति र सुरक्षाको अनुभूति आउँदैन। हामीले प्रहरी प्रशासनसँग सहकार्य गरेर यसलाई शीघ्र सञ्चालनमा ल्याउने छौं।”

स्थानीय युवाहरूले पनि यो अभियानलाई उत्साहका साथ समर्थन गरेका छन्। उनीहरूले स्वयंसेवकको रुपमा श्रमदान गर्दै चौकी वरिपरिका सडक र नालामा समेत सफाइ गरेका छन्। यस क्रममा भत्किएका पर्खाल र छानालाई अस्थायी रुपमा मर्मत गरी चौकीलाई प्रयोगयोग्य बनाउन पहल भइरहेको वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनुभयो ।

यसअघि जेनेरेशन जेड आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी र तोडफोड भएपछि सुरक्षाकर्मीलाई अन्यत्र स्थानान्तरण गरिएको थियो। अहिले पुनर्निर्माणसँगै चौकीलाई स्थानीय सुरक्षा व्यवस्थापनको केन्द्रबिन्दुका रूपमा पुनःस्थापित गर्ने तयारी भइरहेको छ।

सो आन्दोलनका क्रममा प्रहरी चौकी सहित केहि सवारी साधनहरु र टोखाको वडा नं ११ को भवन तथा राजनैतिक दलका नेताहरुको घरमा आगजनी तथा तोडफोड भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा बिष्णुमती प्रहरी चौकी पुनर्निर्माणमा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्