संसद् बैठक बोलाउने गृहकार्यमा सभामुख , संसद् भवन जलाइएपछि कृषि समितिको हलमा बैठक राख्ने तयारी
काठमाडौं । जेनजी आन्दोलनपछि देश अन्योलग्रस्त अवस्थामा पुगेपछि सभामुख देवराज घिमिरे प्रतिनिधिसभा बैठक बोलाउने गृहकार्यमा जुटेका छन् ।
जेनजी आन्दोलनका क्रममा कम्तीमा ३४ जना युवा विद्यार्थीले ज्यान गुमाएको र राज्यका तीनवटै अंगका भौतिक संरचना जलेर नष्ट भएको अवस्थामा अन्तरिम सरकार निर्माणको चौतर्फी दबाब छ ।
संसद् भवन जलाइएपछि कृषि समितिको हलमा बैठक राख्ने तयारी
नेपाली सेनाले जेनजीका प्रतिनिधिसँग अन्तरिम सरकारको नेतृत्वका विषयमा वार्ता र छलफल गरिररहेका बेला सार्वभौम संसद्का प्रमुख भने प्रतिनिधिसभा बैठक डाक्ने गृहकार्यमा जुटेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको अवस्थामा देश प्रशासनिक नेतृत्वविहीन छ । यो अवस्था धेरै दिन नराख्न र संसद्, व्यवस्था र संविधान जोगाउन भन्दै सभामुखले बैठक राख्ने तयारी गरेका हुन् ।
संसद् सचिवालयले जेनजी आन्दोलन सुरु भएपछि २४ भदौमा प्रतिनिधिसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगनको सूचना जारी गरिसकेको छ ।
राष्ट्रपति र सभामुखको खोजी भइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले समस्या समाधानको पहल गरिरहेको भन्दै विज्ञप्तिमार्फत सन्देश दिइसकेका छन् भने सभामुख बैठकको गृहकार्यमा छन् ।
संसद् सचिवालयका अनुसार सभामुख तीन– चार दिनभित्रैमा बैठक राख्ने अडानमा छन् तर संसद्का महासचिव भने उनको प्रस्तावमा अहिलेसम्म तयार नभएका कारण लजिस्टिक तयारी तीव्र बन्न सकिरहेको छैन । राष्ट्रपतिले केही दिन पर्खनुस् भन्ने सन्देश पठाएको भन्दै संसद्का महासचिव पदमप्रसाद पाण्डेय भने ‘अवस्था केही दिन हेरौं’ भनिरहेका छन् ।
उनले यसो भनेपछि संसद् सचिवालयले सिंहदरबारस्थित संसद् सचिवालयको २ नम्बर भवनमा रहेको कृषि समितिको बैठक कक्षमा प्रतिनिधिसभाको बैठक राख्ने तयारी गरिरहेको छ ।
यस हलमा २ सय ५० जनासम्म अटाउनसक्ने स्थान छ । यसलाई अलि व्यवस्थापन गरे २ सय ७५ जनाका लागि सिट व्यवस्थापन गर्न सकिने संसद् सचिवालयको दाबी छ ।
आन्दोलनका क्रममा सिंहदरबारभित्रका धेरै संरचनामा क्षति भए पनि यस भवनमा भने कुनै क्षति भएको छैन । सभामुखको सचिवालयका अनुसार सिंहदरबारभित्रको संसद् सचिवालयका धेरैजसो संरचनामा क्षति भएको छैन । भौतिक पूर्वाधार मन्त्रालयको पार्किङमा रहेका करिब २४ वटा गाडी जले पनि संसद् सचिवालयको पार्किङ र आसपासमा पार्किङ गरिएका ३४ वटा हाराहारीका सवारीसाधन पनि सकुशल छन् ।
हलको अवस्थासमेत राम्रो भएका कारण यहीँ बैठक राख्ने तयारी सभामुखको छ ।
सेनाले जेनजीसँग गरिररहेको संवादको अवस्थालाई मध्यनजर गर्दै एक–दुई दिनभित्रै बैठक बोलाउने तयारी सभामुखको छ । बैठक स्थगन मात्रै भएका कारण सभामुख एक्लैको पहलकदमीमा बैठक राख्न सकिने अवस्था छ । सभामुखको सचिवालयका अनुसार हाल सेनाले अन्तरिम सरकारको नेतृत्वको विषयमा छलफल गरिरहेकाले त्यसलाई अस्वाभाविक नमानी सचिवालय पर्खेर बसेको छ । ‘सेनाको अन्डरमा छलफल भइरहेको छ, यो तत्कालका लागि अस्वाभाविक मानिएको छैन, तर राष्ट्रपतिसँग छलफल भएपछि संसद् मुभ हुन्छ,’ सभामुखको सचिवालयका एक कर्मचारीले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संसद् भवन जलाइएपछि कृषि समितिको हलमा बैठक राख्ने तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्