Techie IT
शुक्रबार, असार १२,२०८३

किन चुलियो महानगर र तारकेश्वर नगरपालिकाको सीमा क्षेत्र महादेव खोलामा विवाद ? यस्तो छ कारण


पुकार तिमलसिना

काठमाडौं,  असार — काठमाडौं महानगरपालिका वडा नं। १६ र तारकेश्वर नगरपालिकाको सीमाना क्षेत्र बालाजुस्थित महादेव खोलामा पर्खाल निर्माणका क्रममा विवाद चुलिएको छ। उपत्यका विकास प्राधिकरणले विष्णुमती करिडोर अन्तर्गत खोलाको दुवैतर्फ सडक निर्माण गर्न ठेक्का लगाएकोमा त्यसको कार्यान्वयनमा स्थानीय तहबीच समन्वयको अभाव देखिएको छ।

सोमबार निर्माण कार्य थालिएसँगै तारकेश्वरका स्थानीयबासीले विरोध जनाउँदै काम रोक्न दबाब दिएका थिए। विरोधका कारण प्रहरीले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो।

विवादको जरो २०७७ सालतिर पुगेको छ, जब प्राधिकरणले विष्णुमती खोलाको चौडाइ २२ मिटरबाट घटाएर १२ मिटर कायम गरेको थियो। तर खोलाको क्षेत्र मिचिएको भन्दै काठमाडौं(१६ का स्थानीयबासीले तारकेश्वर नगरपालिकाको एकपक्षीय पर्खाल निर्माणको विरोध गरेका थिए। सो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो, जहाँ असोज ५ गतेको आदेशले निर्माण रोक्न निर्देशन दिएको थियो।

अहिले पुनः करिडोर विस्तारका क्रममा प्राधिकरणले १७ करोड ७२ लाख रुपैयाँको ठेक्कामा करिब ३ किलोमिटर क्षेत्रमा काम अघि बढाइरहेको छ। तर यसपटक पनि विवाद चर्किएको छ। गुम्बा क्षेत्रमा तारकेश्वरले मापदण्ड मिचेर बनाएको संरचना भत्काउने प्रयास गरिएकोमा स्थानीयले प्रतिवाद गरेका छन्।

प्राधिकरणले पर्खाल काठमाडौंतर्फ लगाउने प्रयास गर्दा खोलाको चौडाइ अझ संकुचित हुने र खोलामाथिका संरचना हटाउनुपर्ने अवस्था देखिएको छ। स्थानीयका अनुसार काठमाडौंतर्फ करिब ६ घर, र तारकेश्वरतर्फ ५ घरका केही भाग, टहरा तथा कम्पाउन्ड भत्काउनुपर्ने हुन्छ।

संरचनात्मक असहमतिले खोलाको बहावमा अवरोध मात्र होइन, स्थानीय संरचनालाई समेत जोखिममा पार्दै आएको छ। खोलाको दुवैतर्फ मिचिएका संरचना नहटाइँदासम्म दीर्घकालीन समाधान नहुने स्थानीय अभियन्ता बताउँछन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #किन चुलियो महानगर र तारकेश्वर नगरपालिकाको सीमाना क्षेत्र महादेव खोलामा विवाद यस्तो छ कारण, #पुकार तिमलसिना


तपाईको कमेन्ट लेख्नुहोस्