Techie IT
शुक्रबार, असार १२,२०८३

धनुषामा तस्कर र सशस्त्र प्रहरीबिच भीडन्त : ६ प्रहरी घाइते


ढल्केबर, असार २० गते ।  धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ । तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।

बिहीबार साँझ भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिएसपी दिनेश शर्मालगायत ६ जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक  निर्मल खड्काले तस्कर समूहले लुकाइ राखेको तस्करी सामग्री नियन्त्रणमा लिने प्रयास गर्दा एक्कासी प्रहरीमाथि आक्रमण भएको जानकारी दिनुभयो । सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र चार राउन्ड गोली हवाई फायर गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार तस्कर समूहले भारतीय भूभागतर्फबाट प्रवेश गरी सामग्री ल्याउने प्रयास गरिरहेका थिए । तिनै सामग्री नियन्त्रणमा लिने क्रममा झडप भएको हो । भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएका छन् ।

घटनाबारे  थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धनुषामा तस्कर र सशस्त्र प्रहरीबिच भीडन्त : ६ प्रहरी घाइते


तपाईको कमेन्ट लेख्नुहोस्