सुनकाण्डकी प्रतिवादी अमला रोकालाई अदालत लगिँदै, धरौटीमा छुटाउने गिरोह सक्रिय
काठमाडौं । बहुचर्चित सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई आज पनि अदालतमा पेश गरिँदै छ ।
फरार अवस्थामा शुक्रवार प्रहरीले टोखाबाट गिरफ्तार गरिएकी रोका आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा पेश भएकी थिइन् । आइतबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस भयो । नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर पुनः प्रहरी हिरासतमा पठाइएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज कार्यालय समय शुरु हुनेबित्तिकै उनलाई जिल्ला अदालतमा उपस्थित गराइँदैछ । सम्भवतः आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउने बोगटीले बताए ।
चलखेल तीव्र
सुनकाण्डमा मुछिएपछि रोकालाई अनुसन्धानको प्रारम्भिक चरणमै भगाउने र घटना भएको २३ महिनासम्म देशभित्रै ‘फरार’ अवस्थामा राख्ने गिरोह अहिले अदालतबाट धरौटीमा छुटाएर उन्मुक्ति दिलाउन सक्रिय छ ।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचबाट शंकास्पद सुन बाहिरिएपछि यो घटनाको पटाक्षेप भएको थियो । राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गरेको अलग अलग अनुसन्धानबाट पनि अमलाको सक्रिय संलग्नता पुष्टि भएको थियो । अमलाका पति दावा छिरिङ सुन बरामद भएको १२ औँ दिनमा पक्राउ परेका थिए ।
यसबाहेक अवैध कल सेन्टरको सञ्चालनसहित चिनियाँ नागरिक संलग्न अन्य आपराधिक गतिविधिमा पनि दावा र अमलाको संलग्नता रहँदै आएको यो मुद्दाका एक अनुसन्धानकर्मी प्रहरीले बताए ।
घटनापूर्व रोका सञ्चालक रहेको ठमेलस्थित होटल भियनामा उच्च पदस्थ प्रहरी, प्रशासक, राजनीतिक व्यक्ति र पत्रकारको बाक्लो आवतजावत हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । ‘ती व्यक्ति किन त्यहीँ नै जान्थे र जानेमध्येकी व्यक्ति उनलाई भगाउनदेखि अहिले मुक्त गराउनसम्म किन सक्रिय छन् ?’, सुनकाण्डका एक अनुसन्धान अधिकृत यस्तो प्रश्न गर्छन् ।
जिल्ला अदालतस्रोतका अनुसार आइतबार थुनछेक बहस करिब करिब सकिएको थियो । न्यायाधीशले चाहँदा कार्यालय समयपछि पनि केही समय लिएर आदेश गर्न सक्थे । तर, उनलाई धरौटीमा छुटाउन सक्रिय गिरोहको चलखेल बढेसँगै न्यायाधीशहरू उक्त मुद्दामा आदेश गर्न हच्किएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरौटीमा छुटाउने गिरोह सक्रिय, #सुनकाण्डकी प्रतिवादी अमला रोकालाई अदालत लगिँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्