एमालेलाई टुँडिखेल आसपास कार्यक्रम गर्न अनुमति, राजावादीलाई रिंगरोड बाहिरै राख्ने रणनीति
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा भोलि बिहीबार नेकपा (एमाले) ले काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए ।
गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दैछ । नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको संयुक्त जनआन्दोलन काठमाडौं केन्द्रित हुनेछ । तर, समितिले अहिलेसम्म कुनै पनि ठाउँमा प्रदर्शन गर्नका लागि अनुमति नमागेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।
राजावादीहरूले भोलिबाट हुने आन्दोलन व्यवस्था उल्टाउने जनविद्रोह भएकाले अनुमति लिइराख्नु नपर्ने बताएका छन् । यद्यपि, प्रशासनलाई जानकारी भने गराइने राप्रपा नेपालका एक प्रवक्ता राजाराम बर्तौला बताउँछन् । उनले भने, ‘हामी सम्भवतः लिखित रूपमा नै जानकारी गराउने छौँ । यसमा अनुमति पर्खेर चाहिँ बस्दैनौं ।’
संयुक्त जनआन्दोलन समितिले यसअघि नै रत्नपार्कबाट आन्दोलन उठाउने घोषणा गरिसकेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउसो १२ बजे रत्नपार्कमा भेला हुन आह्वान गरिएको थियो ।
यता, प्रहरी उच्च स्रोतले भने राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने रणनीति रहेको बतायो । स्रोतले भन्यो, ‘राजनीतिक तहबाट भएको निर्देशन अनुसार राप्रपालाई रिंगरोड बाहिरका लागि मात्रै अनुमति दिने तयारी छ ।’
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले उपत्यकाका विभिन्न प्रहरी युनिटसँग समन्वय भइरहेको बताए । उपत्यका प्रहरी कार्यालयको सुरक्षा योजनाबारे प्रधान कार्यालयलाई रिपोर्टिङ भएपछि मात्रै प्रहरीले आफ्नो योजना सार्वजनिक गर्ने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेलाई टुँडिखेल आसपास कार्यक्रम गर्न अनुमति, #राजावादीलाई रिंगरोड बाहिरै राख्ने रणनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्