उद्योगमा पर्याप्त विद्युत वितरण, आजबाट डेढ सय मेगावाट विद्युत निर्यातः मन्त्री खड्का
काठमाडौँ, जेठ ७ गते । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योग धन्दाहरुमा पर्याप्त विद्युत दिएको दाबी गर्नुभएको छ । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै मन्त्री खड्काले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले यो हिउँदमा पर्याप्त विद्युत दिन नसकेको र मङ्गलबार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत दिइएको बताउनुभयो । उहाँले त्यसबाट बाँकी रहेको करिब डेढ सय मेगावाट विद्युत निर्यात सुरु गरिएको जानकारी दिनुभयो । उहाँले सांसदहरुलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि आग्रह गर्नुभयो । सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उहाँको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरुलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भण्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ । यो अवस्था छ । यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’’
मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताउनुभयो । उहाँले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताउनुभयो ।
यसैगरी, मन्त्री खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताउनुभएको छ । उहाँले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताउनुभयो । उहाँले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ नहुने जानकारी दिनुभयो ।
उहाँले बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताउनुभयो । उहाँले गत वर्षमा पनि वर्षमा सात सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गर्नुभयो । कहिले हावाहुरी, कहिले ठुला ठुला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उल्लेख गर्नुभयो । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने दाबी गर्नुभयो ।
मन्त्री खड्काले भन्नुभयो, ‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ । अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौं । लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो ।’’ मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आजबाट डेढ सय मेगावाट विद्युत निर्यातः मन्त्री खड्का, #उद्योगमा पर्याप्त विद्युत वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्