पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।
अस्पतालले निधनको घोषणा गरेको नेपालका भाइ तथा एमाले नेता समिर नेपालले बताए ।
स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल अस्पताल लगिएको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए । नेता नेपालको अति सघन कक्षा (सिसियु) मा उपचार भएको थियो । उनको उपचार डाक्टर सुरज गुप्तासहितको टोलीले गरिरहेकोमा भर्खरै निधन भएको अस्पताल प्रशासनले जनायो ।
विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।
नेकपा (माले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए । उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।
उनले पार्टी कामकै सिलसिलामा इलाममा जिम्मेवारी सम्हाल्दा त्यहीँकी झुमा देवानसँग वैवाहिक जीवन शुरु गरेका हुन् ।
साहित्य तर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो । यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन् । कवि मन्जुल (मेघराज नेपाल) उनका सहोदर दाइ हुन् ।
उनी माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन् । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरे ।
२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि काम गरे ।
नेपालमा पहिलोपटक सरकारी लगानीमा कालिगण्डकी जलविद्युत परियोजनाको थालनी उनको कार्यकालमा भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्