पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुखको निर्देशन
काठमाडौँ, चैत २८ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । आज पुरातात्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उहाँले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त हिटी कामपाको वडा नम्बर ७ गङ्गाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिनुभएको थियो । भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गङ्गाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख शाहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोगको सम्भावना खोज्न निर्देशन दिनुभएको हो ।
कामपा-७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ हिटी छन् । जसमध्ये आठ अस्तित्वमा छन् । वाहिटी, गङ्गाहिटी, गणेशधारा, भैरव हिटी र मित्र धारा वडामा भएका हिटी रहेका भन्दै सङ्कटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
“स्थानीय प्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा कामपाले पुरिएको अवस्थामा हिटी फेला पारेको थियो । हिटीमाथि दुईतले पक्की संरचना थियो । यो संरचनालाई टोल सुधार समितिले भोगचलन गर्दै आएको थियो । यसको माथिल्लो तलामा कार्यालय र जमिन तलामा व्यावसायिक सटर थिए”, उहाँले भन्नुभयो । टोल सुधार समितिको समन्वयमा पक्की संरचना हटाएर हिटीको उत्खनन सुरु गरिएको हो । सम्पदा तथा पर्यटन विभागले यही चैत १० गतेदेखि दैनिक १० जना कामदार परिचालन गरेर उत्खनन गरिरहेको छ ।
उत्खननका क्रममा अहिलेसम्म हिटीको ‘माअप्पा’ (मुख्य पर्खाल) र ढुङ्गेधारा भेटिएको छ । करिब सात फिट गहिराइसम्मको उत्खननपछि यी संरचना भेटिएका हुन् । अभिलेख उद्धृत गर्दै सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले भन्नुभयो, “यो अठारौँ शताब्दीमा निर्माण गरिएको हो । वि.सं.१९४० मा यसको जीर्णोद्धार गरिएको पाइन्छ । हिटीको लम्बाइ २५ फिट तीन इञ्च र चौडाइ १५ फिट रहेको विवरण छ । उत्खनन कार्य नियालिरहेका स्थानीयका अनुसार २०२८ सालतिर चक्रपथको काम गर्दा पानीको स्रोत बन्द भयो । अहिले यहाँ खानेपानीको पाइप जडान भएको छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुखको निर्देशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्