‘ज्ञानेन्द्र शाह मुर्दावाद’ भन्दै नारा लगाउने माओवादीनिकट नुवाकोटका महिला पत्रकारलाई पूर्वराजाले बोलाएपछि…
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजो गोर्खाबाट काठमाडौं फर्किँदा ठाउँ ठाउँमा सर्वसाधारणले उनको न्यानो स्वागत गरे । उनको समर्थनमा व्यापक नाराबाजीहरू पनि भएका थिए ।
यस क्रममा नुवाकोटको बट्टारमा आइपुग्दा पूर्वराजाको कानमा एउटा अप्रिय नारा गुञ्जियो । राजावादीहरूकै भिडभित्रबाट एक महिलाले अनायास ‘ज्ञानेन्द्र शाह मुर्दावाद’ को नारा लगाउन थालिन् । त्यसपछि उनी राजावादीहरूको हुल हुज्जतमा पर्न सक्ने खतरालाई पूर्वराजाले नै टारिदिएका छन् ।
गोरखाबाट धादिङ नुवाकोट हुँदै काठमाडौं फर्किने क्रममा हिजो बेलुकी करिब सवा ५ बजे सो घटना भएको हो । आफैँ गाडी चलाएर आएका पूर्वराजा विदुर नगरपालिका ४ मा रहेको होटल वाटर टावरमा विश्रामका लागि रोकिएका थिए । त्यहाँ पहिल्यै सर्वसाधारणको ठूलो भिड जम्मा भइसकेको थियो । राजालाई गाडीबाट ओरालेर होटलभित्र छिराउन अङ्गरक्षकहरूलाई हम्मेहम्मे पर्यो । पत्रकारहरू पनि बाक्लै संख्यामा आएका थिए ।
भीड पन्छाउँदै अंगरक्षकहरुले राजालाई अगाडि बढाए भने पत्रकारहरूले पछ्याउँदै फोटो खिच्न थाले । भिड पन्छाउने क्रममा अंगरक्षकले धकेल्दा एक महिला पत्रकारले आफूलाई ‘ब्याड टच’ गरिएको दाबी गरिन् । ती पत्रकार र अंगरक्षकबीच विवाद भयो । राजा भने भित्र पसिसकेका थिए ।
होटलबाहिर युवाहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को नारा घन्काउन थाले । पूर्वराजा गेटभित्र बसेर सर्वसाधारणसँग भेट्न र फोटो खिच्न व्यस्त भए । बच्चादेखि वृद्धसम्म उनलाई भेट्न र फोटो खिच्न लाइनमा बसेका थिए । यता बाहिर विवाद हुँदै जाँदा अंगरक्षकले महिला पत्रकारको मोबाइल नियन्त्रणमा लिएको दाबी गरिएको छ ।
त्यसपछि महिला पत्रकारले नारा लगाउन थालिन्– ज्ञानेन्द्र शाह मुर्दावाद ।’
अनपेक्षित नारा लागेपछि त्यहाँ तनावको सम्भावना बढ्यो । राजाका अनुयायीहरूले उनलाई घेरे । उनलाई नारा नलगाउन चेतावनी दिइयो । सुरक्षामा खटिएकाहरूले महिलालाई बाहिर जान आदेश दिए । तर, उनले मानिनन् । आफू राजासँगै कुरा गर्ने अडान लिइन् । पूर्वराजाले यो दृश्य देखेपछि महिलालाई भित्र आउन इशारा गरे । त्यसपछि सुरक्षाकर्मीले पनि अनुमति दिए ।
महिला नजिकै आएपछि पूर्वराजाले सोधे, ‘के भयो ? किन चित्त दुखाउनुभयो ?’
महिलाले आफ्नो मोबाइल खोसिएको गुनासो गरिन् । त्यसपछि पूर्वराजाले सोधे– कसले खोस्यो ?
उनले जवाफ दिइन्, ‘म पत्रकार हो, समाचारका लागि फोटो खिच्दै थिएँ, मोबाइल खोसिदए ।’ कसले खोसेको हो आफूलाई याद नरहेको उनले बताइन् ।
पूर्वराजाले भने, ‘खोस्न त नहुने हो ।’ त्यसपछि उनले अङ्गरक्षकहरूलाई मोबाइल खोजेर फिर्ता दिलाउन इशारा गरे । त्यसपछि आफू होटलभित्र छिरे । महिला पत्रकार भने सुरक्षाकर्मीले माफी माग्नुपर्ने बताउन थालिन् । त्यसपछि राजावादीहरू उनीमाथि खनिए । उनीहरूले झोले पत्रकार भन्दै गाली गलौचसमेत गरे ।
केही समयमा उनको मोबाइल फिर्ता आयो । उनी शान्त भइन् ।
यी महिला पत्रकार माओवादी पार्टीमा आबद्ध रुपा अर्याल भएको बुझिएको छ । अहिले राजाविरोधिहरुले राजावादीहरुबीचमै साहसी कार्य गरेको भन्दै उनको हाइहाइ गरिरहेका छन् । राजावादीहरूले भने पत्रकार भएर राजनीतिक नारा लगाएकोमा आपत्ति जनाइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘ज्ञानेन्द्र शाह मुर्दावाद’ भन्दै नारा लगाउने माओवादीनिकट नुवाकोटका महिला पत्रकारलाई पूर्वराजाले बोलाएपछि…, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्