रास्वपाको सक्रिय नेतृत्वमा फर्किने रविको तयारी, केन्द्रीय समितिले निर्णय गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीमा पुन सक्रिय हुने तयारीमा जुटेका छन् । सहकारी मुद्दामा पक्राउ परेपश्चात् उनी राजनीतिक रुपमा निष्क्रिय बनेका थिए ।
लामिछानेविरुद्ध सरकारले चार वटा जिल्ला अदालतमा एउटै प्रकृतिको मुद्दा हालेको छ । ती चार वटै अदालतले धरौटीमा छोडेपछि रवि पार्टीमा फर्किने बाटो खुलेको थियो । मुद्दा चल्दाचल्दैको अवस्थामा पनि पार्टी सम्हाल्न उनलाई कानूनी र राजनीतिक रुपमा समस्या छैन । यद्यपि, जिल्ला अदालतहरूको फैसलाविरुद्ध पुनरावेदन गर्ने चटारो र पर्सामा पनि सरकारले मुद्दा हाल्ने प्रतीक्षामा उनले पार्टी नेतृत्व सम्हाल्ने हतारो देखाएका थिएनन् ।
रविविरुद्ध पर्सा प्रहरीले पनि सहकारी ठगीमा अनुसन्धान गरेको थियो । तर, अहिलेसम्म मुद्दा चलाइएको छैन । प्रहरीले मुद्दा चलाउने आदेश नआएको बताइरहेको छ । चार वटा अदालतले धरौटीमा छोडेकाले सरकार पर्सामा मुद्दा चलाउन हच्किएको वा ‘जसरी पनि जेल हाल्ने गरी’ अरू कुनै रणनीति बनाइरहेको आशंका रविले गरेका छन् । यो बीचमा राजावादी आन्दोलन चर्किन थालेपछि सरकारको ध्यान यतातिर मोडिएको छ ।
रविको हिरासतवास लम्बिएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । अर्यालले कार्यवाहक सभापतिको रूपमा अहिले पार्टीको नेतृत्व गरिरहेका छन् । पार्टीका बैठकहरू उनले डाक्ने गर्छन् ।
रास्वपा सचिवालय बैठकले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिसकेको छ । यद्यपि, बैठकको तिथि तय भइसकेको छैन । केही दिनभित्र बस्ने बैठकले अर्यालको कार्यवाहक भूमिका निष्क्रिय बनाउने र उपसभापतिकै पूर्ववत् भूमिकामा फर्काउने स्रोतले बतायो ।
‘केन्द्रीय समितिले उहाँलाई कार्यवाहक बनाउने निर्णय गरेकाले त्यो निष्क्रिय बनाउने निर्णय पनि केन्द्रीय समितिले नै गर्नुपर्छ, त्यसपछि मात्रै रविजी फर्किने ढोका खुल्छ,’ स्रोतले भन्यो ।
केन्द्रीय समितिले निर्णय लिए लगत्तै सोही बैठकमा रवि सहभागी हुन सक्नेछन् । यसको सन्देश उनले पार्टीमा प्रवाहित गरिसकेको स्रोतको भनाइ छ ।
रविले कास्की, बुटवल र काठमाडौंका जिल्ला अदालतले गरेका धरौटी आदेशहरू विरुद्ध पुनरावेदन गरिसकेका छन् । सरकारी पक्षबाट भने चार वटै अदालतका आदेशविरुद्ध पुनरावेदन भएको छ । अब रविले चितवनको आदेशविरुद्ध पनि पुनरावेदन गर्ने छन् ।
रवि नेतृत्वमा फर्किएपछि राजावादी आन्दोलनप्रति रास्वपाले कस्तो नीति अङ्गीकार गर्छ भन्ने पनि धेरैलाई कौतूहल छ । राजसंस्था समर्थहरूले उनीप्रति आशाको नजरले हेरिरहेका छन् । राजा आउनुपर्छ भन्ने पक्षमा रवि भए पनि पार्टीभित्र त्यो वातावरण नभएकाले उनी खुल्न नसकेको चर्चा पनि छ ।
स्रोतका अनुसार नेतृत्व सम्हालेपश्चात् पनि रवि राजावादी आन्दोलनबारे खुल्ने छैनन् । केही समय उनले गणतन्त्रप्रति औपचारिक प्रतिबद्धता जनाइराख्ने स्रोतको भनाइ छ ।
‘राजाको समर्थनमा जनलहर देखिएको कुराले उहाँलाई अवश्य गम्भीर बनाएको छ । तर, रास्वपा राजसंस्थाको पक्षमा उभिन्छ जस्तो लाग्दैन । अहिलेसम्म कुनै पनि नेताले त्यो लाइनमा बोलेका पनि छैनन् । गणतन्त्रप्रति जनतामा वितृष्णा र राजसंस्थाप्रति आकर्षण बढिरहेको हुँदा तटस्थ बस्नु नै ठिक हुन्छ भन्नेमा पार्टीभित्र अघोषित समझदारी छ,’ स्रोतले भन्यो ।
अस्ति पाटन उच्च अदालतमा पुनरावेदनपश्चात् रविले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका थिए । त्यस क्रममा उनले एउटा अर्थपूर्ण वाक्य बोले– गेट रेडी फर द रिभोलुसन (क्रान्ति) का लागि तयार रहौँ ।’
उनको यो अभिव्यक्तिलाई विभिन्न ढंगले अर्थ्याउन खोजिएको छ । कतिले रास्वपा आफैँ सडकमा उत्रिन सक्ने अनुमान गरेका छन् त कतिले राजावादीसँग हात मिलाएर व्यवस्था परिवर्तनको पक्षमा उभिने समेत अड्कल काटेका छन् । तर, रविनिकट स्रोतले भने दुवै सम्भावनालाई नकार्यो ।
‘उहाँले त्यो शब्द कुनै मानसिकता बनाएर भन्दा पनि भावुकतामा बोल्नुभएको जस्तो लाग्छ । सम्भवतः रास्वपाले भन्दै आएको निलो क्रान्तिलाई ईंगित गर्न खोज्नुभएको पनि हुन सक्छ, जुन मतपत्रमार्फत नै गर्ने भन्ने हो । रास्वपा अहिले व्यवस्थाविरुद्ध सडकमा उत्रिने कुनै सम्भावना मैले देखेको छैन,’ स्रोतले भन्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केन्द्रीय समितिले निर्णय गर्दै, #रास्वपाको सक्रिय नेतृत्वमा फर्किने रविको तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्