चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट
काठमाडौँ, चैत ६ गते । उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रमा लैजान लागिएको २५ करोड रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा बरामद भएपछि फेरि सुन तस्करीको गिरोह सक्रिय भएको खुलेको छ । मालवाहक ट्रकको ‘फल्स बटम’ मा राखेर तिब्बतको केरुङ लाने तयारीमा रहेको विदेशी मुद्रा काठमाडौँमै प्रहरीले बरामद गरेपछि तस्करी धन्दाको नयाँ शैली पनि देखिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नारायणी प्रदेश–७ ख १६५२ नम्बरको ट्रकभित्र फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा २५ करोड १९ लाख २४ हजार ९५० रुपियाँ बराबरको विदेशी मुद्रा बरामद गरेको हो । प्रहरीले विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा नियुक्ति भएकै दिन सोमबार तस्करीको गिरोह प्रहरीको हात लागेको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ठुलो परिणाममा विदेशी मुद्रा अवैध रूपमा ओसारपसार भइरहेको गोप्य सूचना पछ्याउने क्रममा सोमबार राति ११ बजे काठमाडौँको झोर क्षेत्रबाट लामालाई उक्त विदेशी मुद्रासहित पक्राउ गरिएको हो । अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले ट्रक खानतलासी गर्दा ट्रकभित्र फल्स बटम (ट्रकको बनावटभित्र अदृश्य खाली डिब्बा) बनाएर विदेशी मुद्रा राखिएको भेटियो । ट्रकचालक लामाले सो विदेशी मुद्रा तस्करी गरी नेपालबाट चीनको केरुङतर्फ लैजाने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सुन किन्न विदेशी मुद्रा
नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय अनुसन्धान ब्युरोका पूर्वप्रमुख हेमन्त मल्ल ठकुरीले नेपालमै २५ करोड रुपियाँभन्दा बढी विदेशी मुद्रा बरामद भएपछि सुन तस्करीको गिरोह फेरि जागेको पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विदेशी मुद्रा अन्यत्र होइन, सुनमै लगानी गर्न हो भन्न गाह्रो छैन । सबै विदेशी मुद्रा नेपालमै सङ्कलन भएको पनि होइन । भारत व्यक्तिगत सुन राख्ने दुनियाँको सबैभन्दा ठुलो देश हो । त्यसैले चीनबाट सुन ल्याउन नेपाल, चीन र भारतकै गिरोहले लगानी गरेको देखिन्छ । विशेषतः पहिलादेखि गिरोहका नेपाली सदस्यले सहजकर्ताको भूमिकामा रहने र थोरै लगानी गर्ने गरेको पाइने गरेको छ ।” उहाँका अनुसार भारतका बजारमा सुनको माग बढी र भारत सरकारले दिने सुनको परिमाण कम छ । उहाँले भन्नुभयो, “त्यसैले भारतमा सुन बाहिरबाटै आउँछ । भारतमा सुन जाने बाटो नेपाल र बङ्गलादेश हो तर यो बिचमा नेपालमा तस्करी गिरोहले प्रभाव बढाएको हो कि भन्ने आशङ्का यो परिणामको पैसाले देखायो ।”
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष एवं सल्लाहकार मणिरत्न शाक्यका अनुसार नेपाली बजारमा बढी मात्रामा सुनको माग छैन । उहाँले भन्नुभयो, “नेपाली सुनचाँदी व्यवसायीले ज्याला लिएर आफ्नो व्यवसाय सञ्चालन गर्ने हो । जुनसुकै कामका लागि होस्, यति धेरै विदेशी मुद्रा बरामद हुनुले गम्भीर भएर सोच्नु चाहिँ पर्छ ।”
अभियुक्त सुन तस्करीमा संलग्न
विदेशी मुद्रासहित पक्राउ परेका लामा २०७३ पुस १३ गते राजस्व छली गरेको सात केजी सुनसहित पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरेर रिहा भएको प्रहरीले जनाएको छ ।
अभियुक्त लामाबाट सोमबार बरामद रकम पनि सुन खरिद गर्न चीनतर्फ लैजान लागेको हुन सक्ने अनुमान रहेको र यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चीनको सुन, #नेपाल ट्रान्जिट, #भारतीय बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्