काठमाडौँका सडकको जिएसआई नक्साङ्कन सुरु
काठमाडौँ, फागुन ६ गते । काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन सुरु गरेको छ ।
नक्साङ्कनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुने छ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क हुने छन् ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीनकुमार मानन्धरले महानगरको सम्पूर्ण विकासको योजना तर्जुमाका लागि प्रविधिमा आधारित विवरण तयार गर्न सुरु गरिएको बताउनुभयो । पाँच जना भौगोलिक सूचना प्रणाली इन्जिनियर र पाँच जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो । नक्साङ्कनका क्रममा यसअघि गरिएका कामबाट प्राप्त उपलब्धिलाई थप गर्दै लगिने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।
महानगरपालिकाका नापी अधिकृत इन्जिनियर अशोक श्रेष्ठले यस कार्यक्रमबाट २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका नक्साङ्कन कार्यक्रमबाट सूचीकृत गरिएका दुई हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीको नामाङ्कन र नक्साङ्कन अवस्थालाई अद्यावधिक गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०५८ सालमा ८० हजार घरधुरीलाई ‘मेट्रिक’ प्रणालीमा आधारित सङ्ख्या (नम्बर) प्रदान गरिएको थियो । त्यसबेला प्रदान गरिएको भौगोलिक सूचना र स्याटेलाइट तस्बिरको मद्दतले अहिलेसम्म दुई हजार ४० वटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्साङ्कन र नामाङ्कन भइसकेको छ । स्याटेलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ‘ड्रोन इमेज’ लिने प्रक्रिया अगाडि बढेको छ ।’’
भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा नहुँदा अहिले ठेगाना प्रणालीसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुन सक्ने अवस्था छैन । महानगरपालिका र वडाका योजना एकीकृत हुन सकेको छैन । प्रशासनिक नक्सा र वडाहरूको सिमानाको अवस्था मिलेको छैन । यसै कारण भवन र पूर्वाधारको यथार्थ विवरण प्राप्त हुन सक्ने अवस्था छैन । अहिले थालिएको नक्साङ्कन कार्यक्रमबाट यी अभावलाई कम गराउँदै लगिने विश्वास गरिएको नापी अधिकृत श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँका सडकको जिएसआई नक्साङ्कन सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्