वर्तमान सरकारले ल्याएकाे अध्यादेश पास हुँदैन : अध्यक्ष प्रचण्ड
सुर्खेत, माघ २९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरू पास नहुने दाबी गर्नुभएको छ। उहाँले ती अध्यादेशहरू आफूहरूलाई अस्वीकार्य भएकोले बहुमत नपुग्ने हुँदा पास नहुने दाबी गर्नुभयो।
पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष प्रचण्डले मङ्गलवार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संसद छलेर ल्याइएका अध्यादेशहरू पासै नहुने जिकिर गर्नुभयो । जनता समाजवादी पार्टीसँग पनि छलफल भएकोले उसले पनि अध्यादेशको विपक्षमा मत जाहेर गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अध्यादेश पास हुँदैन ।’
वर्तमान सरकारलाई दुई तिहाइको अहंकार नपाल्न सुझाव दिँदै अध्यक्ष प्रचण्डले बहुमतको बलमा पेलेर नजान पनि सचेत गराउनुभयो । सरकारले बहुमतका आधारमा अध्यादेश ल्याएको आरोप लगाउँदै उहाँले पेलेर नजान पनि आग्रह गर्नुभयो । यसैगरी सरकारले विकास बजेट पनि घटाउँदै जान लागेकोले त्यसो गरिए प्रतिपक्षका हैसियतले पार्टीले सशक्त प्रतिवाद गर्ने उहाँको भनाइ छ । अहिले आर्थिक सङ्कटमा सरकार फस्दै गएकोले विकास बजेट घटाउन लागेको पाइएको भन्दै उहाँले भन्नुभयो, ‘यदि विकास बजेट घटेमा प्रतिपक्ष सशक्त रूपमा प्रतिवाद गर्दछ ।’
यसैगरी उहाँले आफ्नो पार्टी सरकार ढाल्ने र नयाँ बनाउने खेलमा पनि नलाग्ने जानकारी दिनुभयो । उहाँले अहिलेको कांग्रेस र एमाले गठबन्धनको सरकार २०८४ पछि पनि जाओस् भन्ने शुभकामना दिँदै नेकपा माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने पक्षमा नलाग्ने बरू जनतामाझ गएर सशक्त भएर प्रतिपक्ष बन्ने उल्लेख गर्नुभयो । उहाँले अहिलेको सरकार ढाल्ने, नयाँ बनाउने वा नयाँ गठबन्धन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्नुभयो ।
वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसक्ने दाबी गर्दै उहाँले बरु भ्रष्टाचार, विभेदलाई प्रोत्साहन गरेको आरोप लगाउनुभयो । साथै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई झेलीको संज्ञा दिदैं एमालेको तुलनामा कांग्रेस केही बढी लोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो । साथै आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने पनि उहाँले बताउनुभयो ।
एक अर्को प्रसँगमा उहाँले नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग पनि पार्टी एकीकरणवारे छलफल भइरहेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका सम्वन्धमा धेरै पहिलेदेखि नै छलफल भइरहेको छ, एकीकरणको आधारहरू तयार हुँदैछन् भन्नुभयो । समाजवादी मोर्चामा यसबारेमा पनि बहस भइरहेको हुँदा आधारहरू तयार भएपछि एकीकरण हुने उहाँको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वर्तमान सरकारले ल्याएकाे अध्यादेश पास हुँदैन : अध्यक्ष प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्