एचपिभीविरुद्धको खोप अभियान सुरु, खोप ढुक्कसँग लगाउन चिकित्सकको सुझाव
काठमाडौं, माघ २२ गते । सरकारले आजबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने छ ।
परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियान दिन लागेको खोपको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको हुँदा ढुक्कसँग खोप लगाउन आग्रह गर्नुभयो ।
उक्त खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको डा.गौतमको भनाइ छ ।
वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले एचपिभी भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने बताउनुहुन्छ ।
डा.रिजालका अनुसार यो खोपले महिनावारीमा कुनै असर गर्दैन । उहाँ भन्नुहुन्छ, “किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । यसले एचपिभी खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन ।” साथै एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेको ढुक्क भएर खोप लगाउन डा.रिजालको सुझाव छ । यो खोप महिनावारी भएको समयमा पनि लगाउन मिल्ने डा.रिजाल बताउनहुन्छ ।
यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । यो खोप ०.५ एमएलले पुग्ने डा.गौतम बताउनुहुन्छ । खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यो खोप लक्षित समूह बाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन।
सरकारले उक्त अभियानमा विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । उक्त खोप अभियानका लागि सरकारले विद्यालयमा खोप केन्द्र तोकेको छ ।
एचपिभी भाइरस बस्तो भाइरस हो ?
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस हो । यो भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।
सरकारले अभियानमा लगाउन लागेको एचपिभीविरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा.गौतमको दाबी छ ।
पाँच लाख पाठेघरको मुखको क्यान्सर
पाठेघरको मुखको क्यान्सर चौथौ मुख्य क्यान्सर रहेको छ । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशमा देखिएको छ ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो । मृत्युको भने पहिलो कारण हो ।
पाठेघरको मुखको क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलामा हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ ।
विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एचपिभीविरुद्धको खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्