Techie IT
शनिबार, साउन ३०,२०८३

स्वर्ण सगरमाथा सडक उच्च प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्छु : मन्त्री दाहाल


सोलुखुम्बु, माघ १५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सोलुखुम्बुको विकासका लागि ओखलढुङ्गाबाट सोलु हुँदै खोटाङ जोड्ने स्वर्ण सगरमाथा सडक सम्पन्न गर्नका लागि उच्च प्राथमिकतामा राखेर क्रमागत रुपमा बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

नेचासल्यान गाउँपालिकामा रहेको हिमाल दर्शन माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटनका क्रममा सोलुखुम्बु आउनुभएका मन्त्री दाहालले सदरमुकाम सल्लेरीबाट तिङ्ला हुँदै नेचासल्यान जोड्ने सडकको स्तरोन्नतिका लागि यसै वर्ष बजेट थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री दाहाल र रक्षा मन्त्री मानवीर राईले स्वर्ण स्तम्भको अनावरण गर्दै संयुक्त रुपमा स्वर्ण जयन्तीको उद्घाटन गर्नुभएको हो ।

यस अवसरमा बोल्नुहुँदै रक्षा मन्त्री मानवीर राईले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा हिमाल दर्शन माविको महत्त्वपूर्ण योगदान रहेको भन्दै आफ्नो कार्यकालमा जिल्लाको समग्र विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । मन्त्री राईले सडक र पूर्वाधारको विकास आफ्नो प्राथमिकतामा रहेको धारणा राख्नुभयो ।

नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न स्थानीय सरकार लागि परेको भन्दै शिक्षा क्षेत्रमा भएको करोडौँको लगानीको प्रतिफल दिन शिक्षक, व्यवस्थापन समिति र सरोकारवाला गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष विना राईले ५० वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकोमा हिमाल दर्शन माविलाई बधाई दिँदै सामुदायिक विद्यालयको स्तर वृद्धि गर्न सङ्घीय सरकारले ऐन र नीतिगत सुधारको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा अक्षयकोष दाता, चन्दादातालगायत विभिन्न क्षेत्रमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #स्वर्ण सगरमाथा सडक उच्च प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्छु : मन्त्री दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्