‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीले पानी उत्पादनमा लगानी गर्ने’
सोलुखुम्बु, माघ १३ गते । विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो ।
जापानलगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिङ्गापुर, मलेसिया, दुबई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन गरी शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको प्रमुख शेर्पाले जानकारी दिनुभयो ।
सोलुखुम्बुमा पानी उद्योग खोल्ने सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख शेर्पा र जापानी लगानीकर्ता ‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीका अध्यक्ष अवाइ हिडेरोबिच सहमति भएको छ । सम्झौतासँगै उच्च हिमाली क्षेत्रबाट बग्ने स्वच्छ पानीलाई ब्राण्डिङ गरेर निर्यात गर्दा सोलुदुधकुण्ड नगरपालिका र सोलुखुम्बु जिल्लाका लागि मात्र नभई देशकै लागि ऐतिहासिक परियोजनाको सुरूवात भएको प्रमुख शेर्पाको भनाइ छ ।
जापानको भ्रमण ऐतिहासिक, सफल र उपलब्धिमूलक भएको उल्लेख गर्दै प्रमुख शेर्पाले भन्नुभयो, ‘‘यस परियोजनाले सोलुखुम्बु जिल्लामा प्रविधि, रोजगार, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरी जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने सोलुदुधकुण्ड नगरपालिकाको सपनालाई साकार पार्नेछ ।’’
उच्च हिमाली क्षेत्रमा हिमालयन एभरेष्ट वाटरको ब्राण्डमा फ्याक्ट्री खोलेर विश्व बजारमा स्वादिष्ट पानी आपूर्ति गरिने सहमति भएको छ । जापानको यानाछि प्रान्तमा भएको छलफलमा कम्पनीका प्रमुख कार्यकारी निर्देशक अवाइ ताइचिरोे, सल्लाहकार हिसासि इसिगुरो हिसासी, निर्देशक नोरिहिरो सिजिजाकी, महाप्रबन्धक मिचिहिसा कोबायसी र नेपाली टालीका सदस्यहरुको सहभागिता रहेको जनाइएको छ ।
परियोजना सञ्चालनमा आएपछि नगरपालिका तथा समग्र जिल्लामा धेरै सङ्ख्यामा रोजगारी सिर्जना भई मुलुकको अर्थतन्त्रमा समेत ठुलो योगदान पुग्ने सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले बताउनुभयो ।
जापानको प्रसिद्ध हिमचुचुरो माउन्ट फुजीका नामबाट खोलिएको यो कम्पनीले नेपालमा पनि मिनरल वाटरमै लगानी गर्न इच्छासहित यसअघि २०७३ सालमा चेम्बर अफ कमर्शको आयोजनामा भृकुटीमण्डपमा स्टलसमेत राखेको थियो । कम्पनीले सगरमाथालगायतका हिमालको ग्लासियरलाई प्रयोग गरेर पानी उत्पादन गरी बजारमा पठाउने लक्ष्य लिएर अनुसन्धानको काम गरिसकेका छन् ।
जापानमा बोटल वाटरमा २० प्रतिशत हिस्सा ओगटेको माउन्ट फुजीमा ३० बिलियन टन ग्लासियर एरिया रहेको र नेपालको सगरमाथा क्षेत्रमा एकसय ४० बिलियन टन ग्लासियर रहेको कम्पनीले जनाएको छ । जापानमा यो कम्पनीले उत्पादन गरेको पानीको मूल्य आधा लिटरको एक सय रुपियाँ पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीले पानी उत्पादनमा लगानी गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्