लुम्बिनीमा विद्युतीय बसको परीक्षण सञ्चालन
पुस ४ गते । बुद्ध जन्मस्थलमा थन्किएर बसेका विद्युतीय बसको परीक्षण सञ्चालन थालिएको छ । पाँच वटामध्ये दुई वटा बस बिहीबारदेखि सञ्चालन सुरु भएको हो । ती बसहरु लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेको जनाउदै आएको थियो ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएकामध्ये दुई वटा बसको परीक्षणका लागि सञ्चालन सुरु गरिएको हो । एसियाली विकास बैंकको अुनदान सहयोगमा पाँच वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।
मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण बस र भ्यान सञ्चालन हुन सकेको थिएन । दाताले दिएको बस पर्यटक सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले बिहीबारदेखि परीक्षण स्वरुप बसमा दानपेटिका राखेर सञ्चालन सुरु गरेको हो ।
रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्यतुीय बसको शुभारम्भ गर्नुभयो ।
बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिन सक्नेछन् । तर बस भाडा भनेर पैसा लिइने छैन । बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस दीगो रुपमा सञ्चालन हुने बताउनुभयो ।
उहाँले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्दा आफ्नो सम्पत्तिको सदुपयोग गरेको ठहर हुने बताउँदै यसको मोडालिटिले यात्रुलाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
सांसद घिमिरेले लुम्बिनी आउन चाहने तीर्थयात्रीहरुलाई लुम्बिनीमा ल्याउदा त्यसले पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो । यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अहिले परीक्षण स्वरुप दानपेटिका राखेर २ वटा बस सञ्चालन गरिएको बताउनुभयो ।
उपाध्यक्ष डा. लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरुले पटक–पटक पहल गर्दा पनि नभएको बताउँदै अहिले सङ्घीय मन्त्री, मुख्यमन्त्री र सांसदहरुले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिनेगरी दानपेटिकाको विधिमार्फत सञ्चालन थालिएको बताउनुभयो । उहाँले कानुनी अडचनका कारण सञ्चालन गर्न नसकेको बताउँदै कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनको ध्यानआर्कषण गराउनुभयो ।
यस्तै, पूर्वमन्त्री एवम् लुम्बिनी क्षेत्रका प्रदेश सांसद सिके गुप्ताले विद्युतीय बस सञ्चालनमा आउनु निकै खुशीको कुरा भएको बताउँदै निरन्तरताको शुभकामना दिनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले हरियो नम्बर प्लेटमा रुपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताउँदै दीगो सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थ होटल एसोसिएशनका अध्यक्ष चन्द्रप्रकाश (सिपि) श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बोल्नुहुँदै पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवद्र्धन हुने बताउनुभयो ।
विद्युतीय बस र भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्व ३ सदस्यीय कार्यदल बनाएर कार्यविधि नै तयार गरिसकेको थियो । सरकारी नम्बर प्लेट हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले २०८१ जेठ ६ गतेको मन्त्रिपरिषदले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरेपनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको कोषाध्यक्ष भट्टराईको भनाइ छ ।
बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले निःशुल्क धम्म यात्रा नामक बिजुली बसको सेवा लिएका थिए । यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लुम्बिनीमा विद्युतीय बसको परीक्षण सञ्चालन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्