दुई करोडको डिलमा आएका धवन १३६ रन जोडेर फर्किँदै, फ्रेन्चाइज कति सन्तुष्ट ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का चारवटा म्याच खेलेर भारतीय ब्याट्सम्यान शिखर धवन आज फर्किँदै छन् । कर्णाली याक्ससँग उनले कम्तीमा चार र बढीमा पाँच म्याच खेल्ने गरी सम्झौता गरेका थिए ।
एनपीएलको पहिलो संस्करणमा जोडिएका सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय क्रिकेटर थिए धवन । हुन त न्यूजिल्यान्डका मार्टिन गुप्टिल र न्यूजिल्यान्डका जिम्मी निसम पनि अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त खेलाडी हुन् । तर, नेपालमा बढी परिचित भएको हिसाबले धवनको आगमनले ठूलो चर्चा पाएको थियो ।
धवनसहितको कर्णालीले लिग चरणमा खेलेका चार खेलमध्ये दुईमा जित निकालेको छ भने दुई हार व्यहोरेको छ । एनपीएलका सबैभन्दा महंगा खेलाडीले अपेक्षाकृत प्रदर्शन भने गर्न सकेनन् । उनले चार खेलमा कुल १३६ रन बनाए, जसमा एउटा अर्धसतक सामेल छ । धवनको औसत ४५.३३ र स्ट्राइक रेट १२२.५२ रह्यो ।
धवनले कुनै पनि म्याचमा बलरमाथि हावी भएर खेल्न सकेनन् । जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा धवन १४ बलमा १४ रन बनाएर आउट भएका थिए । सस्तोमा आउट भएपछि उनले पीचलाई दोष दिए । पीच ब्याटिङका लागि अनुकल नरहेको धवनको भनाइ थियो ।
दोस्रो खेलमा उनले राम्रो ब्याटिङ गरे, तर टिमलाई जित दिलाउन सकेनन् । काठमाण्डु गुर्खाजविरुद्ध धवनले ५१ बलमा ७१ रन हाने, जसमा ५ छक्का र ४ चौका सामेल थिए । तर, उनको यो योगदान टिमको जितका लागि पर्याप्त भएन । कर्णालीले दिएको १४९ रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा भेट्टायो ।
चितवन राइनोजविरुद्धको तेस्रो खेलमा पनि धवन राम्रो लयमा देखिए । उनले ४१ बलमा ४५ रन बनाउँदै १३१ रनको सामान्य लक्ष्य पछ्याउन सहयोग गरे । कर्णालीले पहिलो जित दर्ता गर्यो ।
चौंथो खेलमा धवन चलेनन्, तर कर्णालीले जित्यो । पहिलो ब्याटिङ गर्दै कर्णालीले १३३ रनको कमजोर योगफल बनाएको थियो । शिखर धवनको ब्याटबाट पाँच रन मात्रै निस्कियो । तर, बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई ७ रनको रोमाञ्चक जित दिलाए ।
यस म्याचसँगै एनपीएलको पहिलो संस्करणमा धवनको यात्रा समाप्त भएको छ । उनी आजै भारत फर्किने छन् । फ्रेन्चाइजका मालिक ग्रिहेन्द्र घिमिरेले अहिले उनलाई एभरेस्ट बेसक्यान लिएर गएका छन् । बेलुकी पाँच बजेको फ्लाइटमा धवन भारत उड्नेछन् ।
धवनलाई फ्रेन्चाइजमा जोड्ने कर्णाली याक्सको निकै साहसिक निर्णय थियो । उनलाई नेपाल ल्याउनका लागि टिमले २ करोड रुपैयाँ खर्च गरेको छ, जुन कुनै पनि एनपीएल फ्रेन्चाइजका लागि ठूलो रकम हो । धवनले प्रत्येक खेलका लागि ३० हजार डलर लिने गरी सम्झौता गरेका थिए । सबै व्यवस्थापकीय खर्चहरु समेत जोड्दा दुई करोड रुपैयाँ जति पुग्ने फ्रेन्चाइज मालिक घिमिरे बताउँछन् ।

धवनको प्रदर्शनले पक्कै पनि उनले लिएको चर्को मूल्यलाई न्याय गर्न सकेन । यस हिसाबले फ्रेन्चाइज सन्तुष्ट हुने ठाउँ छैन । तर, उनको आगमनलाई रन संख्यासँग मात्र जोड्न नहुने बताउँछन् घिमिरे । धवनजस्तो खेलाडी एनपीएलमा आवद्ध हुनु नै उपलब्धि भएको उनको भनाइ छ ।
नेपाल प्रेससँग कुरा गर्दै घिमिरेले भने, ‘धवनले कति रन हान्नुभयो भन्ने हिसाबले मात्रै हामीले हेरेका छैनौं । तर, उहाँ नेपाल आउँदा फ्रेन्चाइजलाई भन्दा पनि एनपीएललाई र समग्र नेपाली क्रिकेटलाई फाइदा भएको छ । एनपीएलको अन्तर्राष्ट्रिय ब्रान्डिङमा सहयोग पुगेको छ ।’
धवन स्वयम्ले पनि नेपालमा अविस्मरणीय अनुभुति संगालेका छन् । उनलाई नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत भएको थियो भने मैदानमा पनि समर्थकहरुले निकै माया देखाएका थिए । नेपाली समर्थकहरुबाट पाएको प्रेम र स्नेहले उनी पुलकित छन् ।
धवनलाई उद्वृत गर्दै घिमिरे भन्छन्, ‘मलाई नेपालको क्रिकेट यो स्तरमा पुगेको होला भन्ने आँकलन थिएन । नेपालमा मलाई यति धेरैले चिन्छन् भन्ने लागेको थिएन ।’
धवनलाई एनपीएलमा फेरि देख्न पाइएला कि नपाइएला भन्ने चासो पनि क्रिकेट समर्थकमा छ । धवनले यो विषयमा कुनै वाचा गरेका छैनन् । तर, आफ्नो नेपाल बसाइ सुखद बनेको र भविष्यमा नेपाली क्रिकेटलाई सहयोग गर्ने बताएका छन् । भारत र अन्यत्रका राम्रा खेलाडीहरुलाई एनपीएलमा जोड्न आफूले पहल गर्न सक्ने पनि उनको आश्वासन छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुई करोडको डिलमा आएका धवन १३६ रन जोडेर फर्किँदै, #फ्रेन्चाइज कति सन्तुष्ट ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्