Techie IT
बुधबार, कात्तिक २६,२०८३

उपचुनाव : काठमाडौं-१६ मा आधा मतदाता भोट हाल्न आएनन्


काठमाडौं । देशको राजधानी शहर काठमाडौंको मुटुमा पर्छ १६ नम्बर वडा । आज यस वडामा भएको उपनिर्वाचनमा मतदाताहरुको वितृष्णा देखिएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौं १६ मा आधा संख्यामा मतदाताहरु मतदानमै अनुपस्थित रहे । यस वडामा कुल २१ हजार २५ मतदाता रहेकोमा १० हजार ५ सय ५८ मत खसेको आयोगले जनाएको छ । यो ५०.२१ प्रतिशत मात्र हो । देशभर उपनिर्वाचन भएका ४१ स्थानमध्ये सबैभन्दा न्यून मतदान काठमाडौं १६ मा भएको आयोगले जनाएको छ ।

यस वडामा २०७९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मुकुन्द रिजाल विजयी भएका थिए । काठमाडौंका मेयर बालेन्द्र साहसँग ‘टसल’ गरेर निकै चर्चामा रहेका वडाध्यक्ष रिजालको असामयिक निधन भएपछि उपनिर्वाचन गर्नु परेको हो ।

यो वडाभित्र बालाजु, माछापोखरी, बनस्थली, म्हैपी, सोहंखुट्ट, नयाँबजार लगायतका क्षेत्रहरु रहेका छन् । पुरानो निवार बस्ति र बाहिरबाट आएका नयाँ मतदाताको मिश्रण रहेको छ । वडामा १० वटा बुथ रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपचुनाव : काठमाडौं-१६ मा आधा मतदाता भोट हाल्न आएनन्


तपाईको कमेन्ट लेख्नुहोस्