सरकार सही गतिमा छ : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको जिकिर गर्नुभयो ।
मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भन्नुभयो, “सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।” मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको सङ्ज्ञा दिँदै उहाँको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेको बताउनुभयो । पार्टी एकीकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको भन्दै उहाँले बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको चर्चा गर्नुभयो ।
“बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरु थिए, हावाहुरी पनि चलेको थियो”, मन्त्री भट्टराईले भन्नुभयो, “बैठकले ती बादलहरु सफा गरिदिएको छ, नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन, नेकपाको आकाश सफा छ, धर्ती उर्वर छ ।” केन्द्रीय कमिटी बैठकले तीनमहिने अभियान घोषणा गरेको जानकारी गराउँदै उहाँले उक्त अभियानमा सबै नेताहरु गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने बताउनुभयो । सो अभियानमार्फत पार्टीभित्रका समस्या समाधान गरिने मन्त्री भट्टराईले बताउनुभयो । विसं २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुद बनाउने उहाँको भनाइ थियो ।
मन्त्री भट्टराईले पार्टीको महाधिवेशनलगत्तै तीन तहको निर्वाचन हुने भएकाले तीनवटै तहको चुनावमा अहिलेको भन्दा पनि राम्रो परिणाम निकाल्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं बहुमत प्राप्त सरकार भएकाले जनताको अपेक्षा धेरै रहेको र त्यसलाई पूरा गर्न सरकार लागिपरेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्