टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने
काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन लागिएको हो । नगरपालिकाभित्रका झोर महाँकाल, बौडेश्वर, चण्डेश्वरी, धापासी, तिलिङ्गाटार, जालपा र मनोहर माविका विद्यार्थीलाई खाजा खुवाउन लागिएको हो । आठ सरकारी विद्यालयमा हाल चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् । निजी र सरकारी विद्यालयमा गरी झण्डै ४० हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा रु ७५ लाख विनियोजन गरिएको बताउँछन् । “दैनिक रु २५ बराबरको खाजा वितरण गर्न बोलपत्र आह्वान भएको छ, फागुनदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्छौं”, उनी भन्छन् ।
बजेट अपुग भए थप्दै लैजाने गौतमको भनाइ थियो । नगरपालिकामा हाल आठ सामुदायिक, ८१ निजी, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय छन् । टोखाले प्रत्येक वैकल्पिक विद्यालय बराबर रु सात लाख २० हजार आर्थिक सहयोग गर्दै आएको छ ।
नगरप्रमुख प्रकाश अधिकारी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताउछन् । “पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको छ, त्यसलाई बढाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो”, उनी भन्छन् ।
नगरपालिकाका ११ मध्ये ५, ६, ९ र ११ नम्बर वडामा सामुदायिक विद्यालय छैनन् । सबै वडामा सामुदायिक विद्यालय बनाउने उद्देश्यले ‘एक वडा, एक सामुदायिक विद्यालय’ को अवधारणा नगरपालिकाले अगाडि सारेको छ । नगरसभाको बैठकबाट संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्न सकिने गरी ऐन संशोधन गरिएको छ । सो संशोधनले अब निजी विद्यालय सामुदायिक विद्यालयमा रुपान्तरण हुन चाहेमा ढोका खुलेको छ ।
शिक्षा शाखा प्रमुख गौतम सबै वडामा सामुदायिक विद्यालय स्थापना गर्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रम निर्माण गरिरहेको बताउँछन् । “आगामी दिनमा निजी विद्यालय बन्द भयो भने सामुदायिकमा विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्छ, त्यसका लागि पनि सामुदायिक विद्यालय आवश्यक छ”, गौतम भन्छन् ।
नगरपालिकाले हरेक वर्ष नगरभित्रका कक्षा ८, १० र १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिरहेको छ । अभिभावकलाई लक्षित गरी घरमा हुने लैङ्गिक हिंसा र विद्यार्थीको गुणस्तरीय शिक्षासम्बन्धी दुईवटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
महिलाको शिक्षालाई ध्यानमा राखेर नगरपालिकाभित्र छुट्टै महिला वैकल्पिक विद्यालय चलाइएको छ । नयाँ बसपार्कमा निर्माण गरिएको चेतना महिला विद्यालयमा हाल ३०० विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयको शिक्षाको विकासका लागि टोखा नगरपालिकाले सहयोग गरेको छ ।
सामुदायिकमध्ये सरस्वती, बौडेश्वर, मनोहर र तिलिङ्गाटार माविले दश जोड दुई कक्षा चलाएका छन् । सामुदायिकमा अध्ययनरत विद्यार्थीलाई एसइई परीक्षामा गुणस्तरीय नतिजा ल्याउन ‘कोचिङ’ तथा ‘काउन्सीलिङ’ कार्यक्रम चलाइएको छ । त्यसका लागि नगरपालिकाले एक विद्यालय बराबर रु ५० हजार विनियोजन गरेको छ ।
नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय बनाउन विद्यालयका प्राचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकलाई शैक्षिक भ्रमण गराइएको छ । टोखाभित्रको शिक्षालाई समावेश गरेर ‘टोखा शैक्षिक दर्पण’ प्रकाशन गर्न लागिएको शिक्षा शाखाका अधिकृत विजया भट्टराईले जानकारी दिइन् ।
अपुग शिक्षक पदपूर्ति गर्न नगरपालिकाले चण्डेश्वरी, धापासी, जालपा र सरस्वती माविमा एक÷एक दरबन्दी थपेको छ । उक्त दरबन्दीका लागि नगरपालिकाले चालु आवमा रु १६ लाख रकम विनियोजन गरेको छ । केन्द्रले शिक्षक नियुक्ति गर्ने परिपाटी राम्रो नभएको प्रमुख शिक्षा अधिकृत गौतम बताउँछन् ।
असहाय, अपाङ्गता र आर्थिकरुपले विपन्न विद्यार्थीलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने भएको छ । त्यसका लागि नगरपालिकाले टोखा–९ मा रहेको स्कोलास्टिक नेशनल एकेडेमी र टोखा–३ को नितेन मेमोरियल स्कूललाई वार्षिक रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको छ ।
कम शुल्कमा काम गरिरहेका सामुदायिक विद्यालयका कार्यालय सहयोगी र तल्लो दर्जाका २४ कर्मचारीका लागि वार्षिक रु ५० हजार बराबर प्रोत्साहन अनुदान विनियोजन नगरपालिकाले गरेको छ । त्यसले गर्दा ती कर्मचारीलाई सरकारले तोकेबमोजिम न्यूनतम पारिश्रमिक रकम बराबर हुन पुग्छ । नगरपालिकाभित्रका सबै विद्यालयमा समान शिक्षा प्रदान गर्न टोखाले स्थानीय शिक्षा नीति, शिक्षा योजना र स्थानीय पाठ्यक्रमको कामलाई अगाडि बढाएको छ ।
रासस
क्याटेगोरी : समाचार
ट्याग : #विद्यार्थीलाई निःशुल्क खाजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्