बीपी राजमार्ग क्षतविक्षत : सेनाले थाल्यो काम
असोज १३ गते । तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ ।
उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्री नजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राती भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउण्डेसन (जग) भत्काएपछि सडक भत्किएको उक्त वडाका अध्यक्ष रेगनराज थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी शनिबार बेलुका ७ बजेतिर जाँदा त्यसको अवस्था ठिक थियो । बिहान जाँदा भासिरहेको रहेछ । त्यसको फाउण्डेसन कोशीले काटेछ । तल कोप्री रहेको हुनाले माथिको प्रेसरले त्यो झर्याे ।’
बीपी राजमार्गकै खुर्कोट बजार नजिकै करिब १५ मिटर सडक चर्किएको र त्यहाँ वैकल्पिक बाटो बनाउने ठाउँ पनि नभएको उहाँले सुनाउनुभयो । यता जिल्ला प्रशासन कार्यालयले भने सिन्धुली जिल्लामा बीपी राजमार्गको तेस्रो खण्ड खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सबैभन्दा बढी मुलकोटदेखि नेपालथोकसम्म सात ठाउँमा सडक भत्किएर क्षति भएको जनाएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले सडक भासिएको कानढुङ्ग्री नजिकै नेपाली सेनाले अस्थायी ट्रयाक निर्माण सुरु गरेको र आइतबार बेलुकासम्म उक्त ट्रयाक निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहाँ कति भत्किएको छ, कहाँ पिच काटेको छ । त्यसको सडक विभागले प्राविधिक प्रतिवेदन बनाउला । त्योभन्दा सातातिना पहिरो झरेर थुप्रिएको गनिसाध्य छैन ।’
मेसिन लगाएर पहिरो पन्छाउने काम भइरहेको र आज नेपालथोकसम्म पुग्ने उहाँले बताउनुभयो । प्रजिअ शर्माका अनुसार क्षतिको विवरण सङ्कलन गरी गृह मन्त्रालय र नेपाल सरकारलाई पठाउने काम भइरहेको छ । ‘अहिले हाम्रो प्राथमिक काम भनेको नेपालथोकसम्म बाटो खुलाउने हो, त्यसका लागि हामी लागिरहेका छौं,’ उहाँले थप्नुभयो ।
बीपी राजमार्गले तराईको धनुषा, महोत्तरी हुँदै पहाडी जिल्ला सिन्धुली, काभ्रे जिल्लालाई राजधानी काठमाडौसँग जोड्दछ । महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्मको कुल १६० किलोमिटर लम्बाइको बीपी राजमार्गलाई चार खण्डमा विभाजन गरी वि.सं. २०५२ सालदेखि निर्माण सुरु गरिएको थियो । १९ वर्षमा निर्माण सम्पन्न भएको बीपी राजमार्ग निर्माणमा जापान सरकारको २६ अर्ब रुपियाँ (नेपाली रुपियाँ) लगानी भएको थियो ।
अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको नेपालथोक अगाडि करिब ६० मिटर लम्बाइकाे सडक कालोपत्रेसहित भत्काएर पूरै बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेले बीपी राजमार्ग सिन्धुलीको दुम्जा क्षेत्र र काभ्रे जिल्लामा वर्षाका कारण सडक धेरै क्षति भएकाले यातायात खुलाउन तीन-चार दिन लाग्न सक्ने बताउनुभयो । जतिसक्दो चाँडै एकतर्फी भने पनि यातायात सेवा खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बीपी राजमार्ग क्षतविक्षत : सेनाले थाल्यो काम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्