Techie IT
बुधबार, कात्तिक २६,२०८३

प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट


काठमाडौँ, भदौ १७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमबार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भारतबिचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबिचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गर्नुभयो ।

भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट


तपाईको कमेन्ट लेख्नुहोस्