जो कमजोर छ उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलायो : शंकर पोखरेल
काठमाडौं, १० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताउनुभएको छ ।
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रको मूल मान्यता नै सबैभन्दा बलियो राजनीतिक दलले शासन गर्ने भएको पोखरेलले प्रष्ट पार्नुभयो । ‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो’, उहाँले भन्नुभयो ।
कानुनको सुधारद्वारा लोकतन्त्रलाई थप बलिया बाउन सकिने उहाँको धारणा छ । नेपालको कानुनले नै पार्टीहरूलाई बलिया हुन रोकको पोखरेलले टिप्पणी गर्नुभयो । ‘कतिपय कानुनमा सुधार गर्दा पनि स्थायित्वको आधार बलियो बनाउन सकिन्छ’, पोखरेलले भन्नुभयो ।
कानुनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलिया हुनबाट रोकेको उहाँले बताउनुभयो । जो राष्ट्रिय पार्टी हुँदैनन् उनीहरूको सांसद स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था भएको भए देशमा पार्टीको सङ्ख्या स्वतः कम हुने स्थिति बन्ने पोखरेलको धारणा छ ।
त्यस्तो व्यवस्था भएको भए राष्ट्रिय दल बन्न नसकेका दलका सांसदले आफ्नो राजनीतिक भविष्य निर्माणको लागि स्वतः बलिया राजनीतिक पार्टी खोज्ने परिस्थिति बन्ने उहाँको भनाइ छ । ‘साना राजनीतिक दललाई राजनीतिमा बलशाली बनाउने काम कानुनले गरेको छ’, उहाँले भन्नुभयो ।
जनताको बहुमत प्राप्त नयाँ राजनीतिक दल रातारात जन्मिने परिस्थिति नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । अहिले नेपालमा जुन प्रकारको अस्थिरता छ, यही अस्थिरताको बिचमा नागरिकको लोकतन्त्र प्रतिको भरोसा जोगाएर राख्न नसकिने पोखरेलले बताउनुभयो । त्यसैले मुलुकलाई बरबाद हुनबाट जोगाउन ठुला राजनीतिक दलले पहल लिनु परेको उहाँको भनाइ छ ।
पोखरेलले यतिबेला दक्षिण एसियाको राजनीति निक्कै जटिल बन्दै गएको बताउँदै त्यसैले सचेततापूर्वक अघि बढ्नु पर्नेमा जोड दिनुभयो । दक्षिण एसिया राजनीति द्वन्द्वको चपेटामा परेको उहाँको धारणा छ । व्यक्तिगत पुँजीवादको टकराब कति बलियो हुन्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । वित्तीय पुँजीवादको आपसको द्वन्द्व र वित्तीय संस्थाहरूको व्यापारिक टकराबले श्रीलङ्कामा द्वन्द्व निम्त्याएको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगले पनि समाज अराजक बन्ने पोखरेलले बताउनुभयो । त्यो अराजकताले देश नै बरबाद बनाउन सक्ने उहाँको धारणा छ । आर्थिक विकास वा भौतिक विकासले मात्र नागरिकका आवश्यकता र भावना सम्बोधन गर्न सकिँदैन भन्ने कुराको पाठ बङ्गलादेशबाट सिक्नु पर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक र भौतिक विकाससँगै सामाजिक विकास र मानव विकास पनि महत्त्वपूर्ण रहेछ भन्ने कुरा बिर्सन नहुने पोखरेलले बताउनुभयो । यसमा सञ्चार माध्यमको सकारात्मक भूमिका छ कि छैन भन्ने कुराले अर्थ राख्ने पोखरेलको धारणा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जो कमजोर छ उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलायो : शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्