बाढी, पहिरो र चट्याङबाट १८ जनाको मृत्यु
काठमाडौँ, असार १३ गते । देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपत्बाट बुधबार १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । यो वर्षको मनसुन देशव्यापी रूपमा सव्रिmय भएसँगै प्राकृतिक विपत्बाट जनधनको क्षति हुन थालेको हो ।
पहिरोमा परेर ओखलढुङ्गामा एक, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर पाँच र कास्कीका दुई स्थानमा गएको पहिरोमा परेर दुई गरी आठ जनाको मृत्यु भएको प्राधिकरणका सूचना विश्लेषक रञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापामा दुई, सुनसरीमा एक, रोल्पामा दुई, कैलालीमा दुई र कपिलवस्तुमा दुई गरी नौ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । देशका विभिन्न स्थानमा विभिन्न खालका ४४ भन्दा बढी विपत्का घटना भएका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विराटनगर क्षेत्रमा करिब एक हजार घर डुबानमा परेका छन् । भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । देशका १० वटा सडकखण्ड अवरुद्ध छन् । विराटनगरको विमानस्थल ठप्प बनेको छ ।
राहत र उद्धार जारी
विभिन्न भेगमा बाढी, पहिरो र चट्याङ प्रभावित परिवारको राहत तथा उद्धार कार्य जारी रहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सतर्क अवस्थामा काम गरिरहेका छौँ, ओखलढुङ्गामा पहिरोमा परेर घाइते भएका दुई जनालाई हवाई उद्धार गरी काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।”
पहिरोले ओखलढुङ्गामा सडक अवरुद्ध भएपछि प्रमुख सडकमा आवागमन बन्द रहेको छ । त्यस्तै लमजुङमा पहिरोले घर बगेपछि अलपत्र रहेका परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा राखेर राहत प्रदान गरिएको छ । विराटनगरका १० वटा वडा नै डुबानले जलमग्न बनेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । सहज जीवनयापनका लागि सहजीकरण गर्ने प्रयासमा प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकारले थप पहल गरिरहेको पोखरेलले जानकारी दिनुभयो ।
लमजुङमा तीन वटा घर पहिरोले बगाएको छ । अन्य केही घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
कर्णाली र सुदूरपश्चिमका विभिन्न भेगमा पनि बाढी, पहिरोको उच्च जोखिम बढेकाले सतर्कता अपनाउन त्यहाँको स्थानीय सरकार र जिल्ला प्रशासनलाई भनिएको पोखरेलले बताउनुभयो । गएको २४ घण्टामा मात्र देशका विभिन्न १८ स्थानमा पहिरो गएको छ ।
सुरक्षित रहन अपिल
नेपालमा मनसुन मङ्गलबार रातिदेखि सक्रिय बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत २४ घण्टामा देशका १४७ वटा मापन केन्द्रमा वर्षा भएको रेकर्ड गरिएको छ । जस अनुसार सबैभन्दा धेरै विराटनगरमा ३६१ मिलिमिटर वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले अबको एक साता मनसुन सक्रिय रहने सम्भावना प्रबल रहेकाले सतर्कता अपनाउन अपिल गरेको छ । महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म नै मनसुनको उच्च प्रभाव रहेको जानकारी दिएको छ ।
मौसमविद् गोविन्द झाले भन्नुभयो, “धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ, त्यसैले विपत्को पूर्वसूचनासँगै सुरक्षित रहनुपर्ने देखिएको छ ।”
पश्चिमी भूभागमा बाढी, पहिरोसँगै चट्याङको उच्च सम्भावना रहेको छ । उहाँका अनुसार अबको साता आकाश खुल्ने सम्भावना कम रहेको छ । देशभर मनसुनी वर्षा रोकिँदै पर्दै रहने छ ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुने भारी वर्षाका कारण गेग्य्र्रान बहाव, बाढी, पहिरो जाने सम्भावना अधिक रहेको झाले बताउनुभयो ।
सम्भावित प्राकृतिक विपत्का कारण पूर्वसूचनासँगै दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने भएकाले सतर्कता अपनाएर मात्र गतिविधि गर्न पनि महाशाखाले सुझाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पहिरो र चट्याङबाट १८ जनाको मृत्यु, #बाढी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्